झापा । काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका दुई नेपाली महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रविणा लिम्बू र दीपा थलांग रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीहरूलाई दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो। भारतीय सशस्त्र सीमा बल ९एसएसबी० ४१ बटालियनको टोलीले उनीहरूलाई पानी ट्यांकी नाकाबाट पक्राउ गरेको जनाइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालबाट गएका उनीहरूलाई भारतीय एसएसबीले चेकजाँच गर्दा नेपाली नागरिकताको प्रमाणपत्र र भारतीय पासपोर्ट बरामद गरेको थियो। ती महिलाहरूले नेपाली नागरिकता कुन जिल्लाबाट लिएको भन्ने कुरा एसएसबीले खुलाउन चाहेन।

नेपाल र भारत दुवै देशको नागरिक भएको प्रमाणपत्र फेला परेपछि एसएसबीले आवश्यक कारबाहीका लागि उनीहरूलाई खोडीबारी थानालाई जिम्मा लगाएको छ। खोडीबारी थानाले महिलालाई आइतबार सिलगुढी अदालतमा पेस गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले एसएसबीले पक्राउ गरेको महिलाको विषयमा आफूलाई कुनै जानकारी नआएको बताए। दोहोरो नागरिकताका घटनाहरू सीमा नाकामा प्राय हुने गरेको उनले बताए।

'दोहोरो नागरिकता लिनु कानुनी अपराध हो,' उनले भने, 'एसएसबीले मात्र होइन, नेपाल प्रहरीले पनि त्यस्तो व्यक्ति फेलापारे पक्राउ गर्छ।' एसएसबीले पक्राउ गरेको महिलाहरूको विषयमा बुझ्ने उनले बताए।