
तेह्रथुम, ११ भदौ
तेह्रथुमको म्याङलुङ वजारमा जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आज गरेको बजार अनुगमनका क्रममा १० हजार ४ सय ५५रुपैंया बरावरको सामान जफत भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश न्यौपाने नेतृत्वको टोलीले बजार क्षेत्रका पसल, होटल र केही गोदाममा अनुगमन गरेको हो । अनुगमन गरीएका पसल तथा होटलबाट उपभोग्य समानको उपभोग्य मिति गुज्रीएको, मापदण्ड विपरीत समान विक्रीका लागि राखिएको, खाद्य र अखाद्य वस्तु एकै स्थानमा भण्डारण गरी राखिएको अवस्थामा फेला पारिएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । अनुगमन गरिएका पसल तथा होटलबाट चिसो पेय पदार्थ, विभिन्न ब्राण्डका मसला, विस्कुट, भुजा, कुरमुरे, पेडा, फरुनदाना लगायतका सामानहरु जफत गरिएको थियो । जफत गरिएका सामानहरु जिल्ला प्रशासनको हाता भित्र नष्ट गरिएको छ । बजार अनुगमनमा जिल्ला प्रहरी कार्यालय, म्याङलुङ नगरपालिका वडा नम्वजर १ र २, जिल्ला स्वास्थ्य कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, तेह्रथुम उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।