बाढी र पहिरोले देशैभरि पुनः बितण्डा मचाएको छ। हजारौं घर डुबानमा परेको छ। कैयौं पशु चौपायाहरू मरेका छन्। पहाडी जिल्लाहरूमा पहिरोले धनजनको क्षति पु¥याएको छ। तराईका बस्तीहरू बाढीले डुबेका छन्। घरमा बाढी पसेपछि स्थानीयहरू घरबारविहीन बनेका छ। शुक्रबार मात्र देशभरमा तीन जनाको मृत्यु भएको छ। चार जना बेपत्ता भएका छन्। दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार नवलपरासीको सुस्ता पश्चिममा बाढीमा परेर रामग्राम नगरपालिका १८ का ३८ वर्षीय विनोद पासी र १३ वर्षीय छोरा प्रदीपको ज्यान गएको छ। घरमा पानी पसेपछि छिमेकीको घरमा जाँदै गर्दा उनको मृत्यु भएको थियो। उदयपुर कटारी नगरपालिका २ मिलन चोककका ७ वर्षीय कर्ण मगरको पहिरोमा परेर मृत्यु भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महोत्तरीमा रातु खोलाको बाढीले बाँध भत्काउँदा वलवा—तिलगढमा ९ सय घर डुवानमा परेका छन्। ४ हजार ५ सय मानिस घरबारविहीन बनेका छन्। धनुषा र सिरहाको बीचबाट बग्ने कमला नदीमा पानी बढेपछि नजिकका बस्तीमा त्रास बढेको छ। चुरेबाट तराई भू—भागमा बग्ने एक सय ६४ नदीको चरम दोहनले बस्ती प्रभावित हुनुका साथै हजारौं विस्थापित छन्।

भारतले एकतर्फी रूपमा निर्माण गरेको तटबन्ध एवं बाँधका कारण तराई बर्सेनि जलमग्न हुँदै आएको छ। कैलाली र कञ्चनपुरका नदीमा पनि जलस्तर बढेको छ। कैलाली बाढीमा परेर एक वृद्धाको ज्यान गएको छ। लम्की चुहा नगरपालिका–६ गुलराकी ९० वर्षीया फुखिया थरुनीको चरेला नदीमा आएको बाढीले बगाएर ज्यान गएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाहले बताए।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।