
काठमाण्डाै – सरकारले बाढी/पहिरो प्रभावित क्षेत्रमा पालिकाको समन्वयमा राहतका काम सुरु भएको जनाएको छ । लगातारको वर्षापछि बढी प्रभावित नवलपरासी, रुपन्देही, बाँके, दाङ, कैलाली, महोत्तरी, कञ्चनपुरलगायतका जिल्लामा विवरण सङ्कलन र राहतको व्यवस्थापन थालिएको हो ।
गृह सचिव टेकनारायण पाण्डेले उद्धारसहित राहतका काम सुरु भएको बताउनुभएको छ । अप्ठ्यारोमा परेकालाई सुरक्षित ठाउँमा ल्याउने र अस्थायी बसोबासको काममा पनि पालिकाको समन्वयमा भइरहेको उहाँले जानकारी दिनुभयो ।
नवलपुरमा पहिरोमा तीन जना र ललितपुरमा शुभाने खोलाले बगाउँदा एक बालिका बेपत्ता छन् । नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा बेपत्ता तीन जनाको आज बिहानैदेखि खोजी थालिएको छ । बेपत्ता भएका तीन जनाको हिजोदेखि नै सुरक्षाकर्मीको टोलीले खोजी थालेको थियो । आज दिउँसो थप टोली खटाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । बाढी, पहिरो र डुबानबाट देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ ।
राजमार्ग तथा सडक र पुलमा क्षति पुगेको छ । यसअघि हिजो बेलुका गृहमन्त्री बालकृष्ण खाँडले तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न निर्देशन समेत दिनुभएको थियो ।
बढी पानी परेका ठाउँ र प्रभावितमा सहजता ल्याउन समन्वय गर्न तथा कतिपय ठाउँमा पुल बगाएको, राजमार्ग तथा सडक बन्द भएको अवस्थामा डाइभर्सन, बेलिब्रिज निर्माणसहित आवश्यक काममा तदारुकता देखाउन पनि उहाँले सम्बन्धित निकायलाई निर्देशन दिएको हो।