हातमा मुरली, शीरमा मयूरको प्वाँख, शीतल बगैँचामुनि, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्रीकृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट उहाँको जन्म भएको मान्यता रहिआएको छ । आज उनै भगवान श्री कृष्णको जन्मदिन ।

संसारभरका हिन्दू धर्मावलम्बी अनि श्रीकृष्णका भक्तहरूले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । अत्यन्तै चहक र अति प्रतिभाशाली–प्रभावशाली व्यक्तित्वका धनी भगवान श्रीकृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्थे । उनको मुस्कानमा हर्ष छ । मनको सौन्दर्यता र सौम्यताको अद्भूत संगमयुक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाँख सजिएको हुन्छ । गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरिएका कृष्णका पोशाकका रंगहरू बिजुली चम्किँदाको जस्तो चम्किलो हुन्छन् । उनको पैतालाका नङ्गका रगंहरूले चन्द्रमाको आभास मिल्छ

त्यस्ता व्यक्तित्वका धनी उनै श्रीकृष्णको परिचयका शृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी, दूध–दहीका घैला फुटाउने, चकचके जस्ता अनेक कार्यहरू ‘कृष्णलीला’ को पगरी गुथेर परिचित छन् । कामले बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथा र घटना वृन्दावन, मथुरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू–लोकमै चर्चित छन् । उनी सम्पूर्ण रूपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्न सक्ने दिव्य व्यक्तिका रूपमा अझै पनि चर्चित छन्

गोविन्द, कन्हैया, मुरलीमनोहर, श्यामसुन्दर, मखनचोर आदि थुप्रै नामबाट पुकारिन्छन् । यिनै कृष्णलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रूपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ

भगवान श्रीकृष्णको नामसँगै राधाको नाम पनि बडो आस्थाका साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरू संसारभरि धेरै ठाउँमा छन् । तर राधा–कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासमा लिपिवद्ध छैन । बरू इतिहासले रुक्मिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको उल्लेख भएको पाइन्छ

कृष्ण धारावासीको कृति राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो । तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तिको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।

कृष्णका कुरा गर्दा ‘मीरा’लाई पनि इतिहासले बिर्सन खोजेको जस्तो भान हुन्छ । मीरा वास्तवमा एक गृहस्थी जीवन व्यतित गरिरहेकी महिला थिइन् । जो कृष्णको आकर्षण र अनुभूति मात्रैले पनि सम्पूर्ण कुराहरू त्यागेर कृष्णको खोजीमा निस्किइन् । मीराका भजनहरूमा र संगीतमा कृष्णमोह पाइन्छ । समर्पण र सुफी भावनाको एउटा अनुकरणीय उदहारण संसारले सिक्न जरुरी छ ।

श्रीमद् भागवत् गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन् :
‘यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्’
अर्थात् :

“जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हाबी हुँदै जान्छ,
तब तब धर्म रक्षाका लागि म स्वयं यस धर्तीमा नयाँ अवतार लिएर आउनेछु ।’

महाभारतमा पाण्डव र कौरवहरूबीच युद्ध हुँदा श्रीकृष्ण पाण्डव पक्षमा थिए । कौरवहरूसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डवतर्फका अर्जुन एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ कौरव सेनामा आफ्नै दाजुभाई र पितामह (हजूरबुबा) सम्मिलित थिए । आफन्तविरूद्धको लडाईँ, हार र जीत दुवैमा निराशा । श्रीकृष्ण आफू जगत् पुरुष भएपनि अर्जुनको मनोबल बढाउने उनको एउटा सामान्य सारथी (एक जोडी घोडायुक्त रथ हाँक्ने व्यक्ति)का रूपमा युद्धमा साथ दिए । ‘काम कहिले पनि सानो ठूलो हुँदैन’ भनी अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबीचको सम्बन्धको व्याख्यालाई प्रेरणाको रूपमा उदाहरण प्रस्तुत गरेका छन् :

‘हे अर्जुन तिमी किन युद्धको परिणामकाबारेमा व्यर्थ चिन्ता लिन्छौ ? कर्म गर फलको आशा नगर ।’

एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसँग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रूपमा निर्दिष्ट छ । विभिन्न प्रसंगमा भगवान श्रीकृष्णको व्याख्या गरिँदा उनको छेउछाऊ जीवजन्तु, चराचरहरूको पनि नामका कारण जीव–जन्तु र चराचरप्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर छ ।

श्रीमद् भागवत् गीताका अनुसार, भगवान श्रीकृष्णको जन्म, लीला र उपस्थिति एकदमै अलौकिक छ । जसले ती कुरा बुझ्न सक्छ, उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँछ । कृष्णको जन्म र भौतिक उपस्थिति हामी सामान्य मानवहरूका लागि पूर्वजन्मका कार्यको फलको रूपमा भएको छैन । आफ्ना भक्तहरूलाई आफ्नो माया–प्रेम दर्शाउन र उनीहरूलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।

हामीमध्ये धेरैले कृष्ण र उनको अवतारलाई टिभी सिरियलहरूमा देखेका छौँ । उनको अवतार र कृष्ण नामको पात्र हामी मन पनि पराउँछाँै । उनको सुमधूर व्यक्तित्वको परिकल्पना पनि हामी गर्छाैं । तपाई चाहे जुनसुकै धर्म या समुदायको हुनुहुन्छ, कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रूपमा भगवान श्रीकृष्णलाई लिएर हेरौँ । उनका वाक्यहरूमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, ‘एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, युद्ध कौशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ ।’

कृष्णसम्म यो संन्देश पुग्ने हो भने उनको फेरि धर्तीमा आउने बेला भएको छ, धर्तीलाई माया चाहिएको छ ।
तिनै भगवान श्री कृष्णको जन्मदिनमा सबैलाई माया र उत्साहको शुभकामना ।

हरे राम हरे कृष्ण

हरे कृष्ण हरे हरे
कति राम्रो वृन्दावन शहर
सललल गरी बगेकी यमुना
वृन्दावनको झिलीमिली कृष्णजीको दर्शन
कृष्णजीको दर्शन गर्ने सबै पार तर्छन्

गौरा पर्व

गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउँछन् ।
नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूर–पश्चिमी भू–भाग अनि यसको मौलिक पृष्ठभूमिको ठूलो महत्व छ । खस राज्यको उद्गमभूमि अनि भाषा, संस्कृति, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व भाद्रशुक्लको षष्ठीदेखि अष्टमी तिथिसम्म धार्मिक कार्यहरूको आयोजना गरी मनाइन्छ । विशेषगरी डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाइँदै आएको पर्व हो, गौरापर्व ।
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजवान पुत्र लाभ गरिन् । तिनै पुत्रको तेजले आँखा देख्न नसक्ने हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।
गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार बसी आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरिका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्छन् । विरुडा भिजाएपछि दोश्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रूपमा ‘बिरुडा’ धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउँछन् । गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा–आजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

विशेष नेपाली मौलिकता बोकेका यस्ता गीतका माध्यमबाट एकअर्काका दुःख–सुख बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । यो पर्व सुदूरपश्चिम क्षेत्रकै एक ठूलो पर्वको रूपमा मनाइन्छ । आजकल गौरा पर्वका अवसरमा सुदूरपश्चिमका बासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने गर्छन् । मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख–शान्ति प्राप्त हुने, इष्ट कूलदेवता प्रसन्न हुने जनविश्वास छ ।

राष्ट्र प्रमुखले समेत गौरा पर्वका अवसरमा देशवासीलाई शुभकामना दिने चलन छ । गौरा पर्व सुदुरपश्चिमसँग मात्र नजोडीकन समग्र राष्ट्र अनि नेपाली पहिचानको पर्वका रूपमा लिइनु जरुरी छ । पूर्व होस् या पश्चिम, नेपालीहरूको मन आखिर एउटै त हो । त्यसैले त गीतकारले गीत कोरिदिए

पश्चिम कोही पूर्व घर
हिमाल त एउटै हो
छरिएर बसे के भो ?
नेपाल त एउटै हो
मेचीदेखि महाकालीसम्मका नेपालीहरूलाई गौरा पर्वको शुभकामना ! खुब मज्जाले मनाउनुहोस्, जय होस् !!

दुर्वाष्टमी

गौरा पर्वको दिनमा नै दुर्वाष्टमी पनि मनाइन्छ । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूर पश्चिम र मध्यपश्चिमबासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । भाद्र शुक्ल अष्ठमीका दिनलाई दुर्वाष्टमीका रूपमा मनाउने चलन छ ।

भाद्र शुक्ल अष्टमीलाई उज्यालो गौरा र भाद्र कृष्ण अष्टमीलाई अँध्यारो गौराका रूपमा मनाउने चलन छ । यदि कसैले पहिलो पटक गौराको व्रत लिन थाल्नुभएको हो भने चाहिँ उज्यालो गौराबाट नै व्रत बस्नुपर्ने हुन्छ ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको मान्यता छ । पाँच वनस्पति कुश, काँस, सामा, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने चलन छ ।

दुबोको पूजा गरिने भएकाले चाहिँ यस व्रतलाई दुर्वाष्टमी भनिन्छ । दुबो फैलिएसरी सन्तान फैलिऊन् र दुवोसरी नै परिवार मौलाउन भन्ने कामनासहित दुर्वाष्टमीमा उमा महेश्वरको पूजा, उपासना र व्रत समेत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ ।

विश्व बेपत्ताविरुद्धको दिवस
रसाएका आँखा अनि हातमा आफन्तका तस्बिर, एउटा हाँसेको तस्बिरको रोएको कथा लिएर युद्ध आन्दोलनमा हराएका आफन्तहरूको अवस्था बुझ्ने लालसामा रहेका व्यक्तिहरू हरेक देश अनि सरकारको दैलोमा उभिएका छन् ।

युद्ध अनि आन्दोलनको चर्को मूल्य चुकाउनुपर्ने हुन्छ । अनि बेपत्ता नागरिकको फेहरिस्तले यिनै मूल्यहरू चुकाउने क्रममा बनेका पुराना घाउहरूको आलो पीडालाई दर्शाउँछन् । हरेक वर्षको अगस्त ३० तारिखमा विश्वभर संयुक्त राष्ट्रसंघ र एमएनएसटी इन्टरनेशनलले आफ्नो सक्रिय भूमिका जनाउँदै बेपत्ता व्यक्तिहरूको सम्झनामा दिवस मनाउँछन् ।

विश्वले रक्ताम्य इतिहास बोकेको छ । ठूला ठूला पुल पुलेसाहरू भएर मेट्रो रेल कुद्ने शहरहरूको सडकमा, खोलामा रगत मिसिएर पानी बगेका छन् । यूरोप, अमेरिका, अष्ट्रेलिया, एसिया सबैतिर कुनै न कुनै समयमा, केही न केही कारणले युद्ध अनि विध्वंश मच्चिएकै थियो ।

युद्ध, आन्दोलनमा मानवहरूलाई हतियार अनि औजारको रूपमा प्रयोग गरिन्छ, जसले गर्दा युद्धमा मानवहरूको दर्दका कथाहरू अनि बेपत्ता हुने चरणवद्ध घट्नाहरू एकमाथि अर्को कथागरी उनिँदै जान्छ । सैयौ वर्षपछि भेटिने सामूहिक चिहानले हराएका केही हज्जाराँंको अस्थिपञ्जरहरू भेटाउँछ भने लाखौँको अनिश्चित अवस्थाको आशामा केही पुस्ताहरू आँशुका धारासहित आजीवन खोजीमा भौँतारिएका हुन्छन् । युद्धले आफूसँगै धेरैलाई गाडेको, जलाएको अनि निमिट्यान्न पारेको इतिहास छ । तिनै सूचीमा उल्लेखित नामहरूका सम्झना अनि सम्मान गर्दै अधिकारकर्मीहरू आज विश्वभर बेपत्ता व्यक्तिहरूविरुद्धको दिवस मनाउने गर्छन् ।

यस दिवसको मुख्य ध्येय भनेको हराएका मान्छेहरूको जानकारी संकलन मात्र गर्ने नभइकन आउँदा दिनहरूमा व्यक्तिहरू युद्ध–अपराध या आन्दोलनको क्रममा नहराउन भन्ने जागरण र व्यवस्थाको प्रवर्धन गर्नु पनि हो । नेपालमा पनि त दशक लामो द्वन्द्वमा धेरैजना बेपत्ता भएका तथा पारिएकाहरूको सूची छ । हाम्रा आफन्तको सके सास नत्र लास भएपनि देउ भन्दै धेरैजना न्यायको दैलोमा भिजेका आँखासहित बस्नु भएको छ ।

आखिर कहिले पुग्छ त न्याय ती दैलौहरूसम्म ? यो एउटा अनुत्तरित प्रश्न नै छ । नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारी आफ्नो हराएको पुत्रको न्यायका लागि अनसन बसी नै रहे, न्यायले बेवास्ता निरन्तर गरिनैरह्यो ।

युद्धको खाटाहरू निको पार्न युद्धअपराधमा हराएका मान्छेहरूको खोजी र न्यायको वितरण अत्यन्त महत्वपूर्ण हुन्छ । आफ्नो अनसनको ३३ औँ दिन मृत्युवरण गरेका हराएका पुत्रका न्यायलयको दैलोमा विश्वासकासाथ उभिएका बुबा नन्दप्रसादलाई नेपालले न्याय दिन नसक्नु पनि आधुनिक युगको सतीको सराप त सावित हुने हैन ? या यो एउटा अर्को युद्ध अपराध त होइन ? अनि कति छन् त नन्दप्रसाद जस्ता बुबा अनि हराएका छोराछोरीहरू ? अनि सम्बन्धित निकायको यो मौनता हो या कठिन समयमा वेपत्ता हुने कार्यलाई बढावा दिने सक्रियता ? आजको दिन शायद नेपालमा फेरि आँट जुटाएर प्रश्न सोधिनेछ । आफन्तको मृत्यु अत्यन्त पीडादायी हुन्छ र त्यो भन्दा पीडादायी हुन्छ उनीहरू यसै हराएर जानु र उनीहरूको हालत र खोजखबर थाहा नहुनु, यही कुरालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले सन् २०११ बाट यस दिवसको शुरुवात गरेको हो ।

विश्वभरि युद्ध, अपराध, आन्दोलन अनि प्राकृतिक विपत्तिका कारणले लाखौँ मान्छेहरू हराएका छन् । आजको दिनले सबैलाई न्याय दिओस् । राज्य कम्तीमा बेपत्ता तथा बेपत्ताका परिवारप्रति जिम्मेवार अभिभावकत्व निभाउन सकोस् । स्मरणरहोस्, मानिसको जीवन जस्तो मूल्यवान कुरा यस धर्तीमा अरु केही पनि छैन्, मानिस हराउने र हराउन वाध्य पार्ने क्रम बन्द होस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल/ हाम्रो पात्रो बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah