श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यसपटक पनि खटयात्रामा राखी नगरपरिक्रमा गरिने भएको छ ।
श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीबाट नागरिकको स्वास्थ्यसुरक्षालाई ध्यानमा राखी ९०औँ संंस्करणको भगवान राधाकृष्णलाई भदौ १५ गते मङगलबार गाडीमा राखी नगरपरिक्रमा गरिने जानकारी दिनुभयो ।
यस वर्षको खटयात्रा राधाकृष्ण मन्दिर पानीट्याङ्कीबाट शुरु भई गोल्छा, जलजला, ट्राफिक, रोडशेष, महेन्द्र, भृकुटी चोक, बरगाछी, कञ्चनबारी, राजवंशी र पुष्पलाल चोकको परिक्रमापछि पुनः मन्दिरमा पुग्ने बताइएको छ ।
समितिका अध्यक्ष ओझाले खटयात्रा विशेष पूजापाठ गरी विराटनगर–१ स्थित पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरको परिसरबाट निकालिने भएको छ । खटयात्रा बीचमा कतै नरोकिने भएकाले भक्तजनले पूजापाठको सामग्री नलिइ टाढैबाट दर्शन गर्न समेत समितिले आग्रह गरेको छ । खटयात्रामा नेपाल प्रहरीको वाजासमेत रहने छ ।
विसं १९८८ बाट खट “युगल मूर्तिलाई खाटमा राखेर” को रुपमा सुरु भएको यात्रा विसं २०२५ देखि रथयात्राको रुपमा परिणत भएको हो । प्रदेश सरकारले मङ्गलबार मोरङ, सुनसरी र झापामा सार्वजनिक बिदाको निर्णय गरेको छ ।



