काठमाडौं । नेपालमा विवादित अमेरिकी सहयोग परियोजना एमसीसीले सर्वसाधरणको ध्यानाकर्षण गर्न मिडिया क्याम्पेनिङ शुरु गरेको छ ।
एमसीसी कार्यान्वयन नगर्न सर्वत्र दबाब र विरोध भैरहेको समयमा एमसीसीको नेपालस्थित कार्यालयले टेलिभिजन विज्ञापन नै निर्माण गरेर प्रसारण थालेको हो । अहिले एमसीसीको गुणगान गाइएको विज्ञापन केही राष्ट्रिय टेलिभिजनहरुले प्रसारण गरिरहेका छन् ।
के छ विज्ञापनमा ?
झण्डै ४० सेकेण्डको विज्ञापनको सार एमसीसीको लगानीले नेपालीको भविष्य सुरक्षित हुन्छ भन्ने छ । युवाहरुलाई लक्षित गरि बनाइएको यस विज्ञापनले एमसीसीबारे युवाको समर्थन चाहेको प्रष्ट छ ।
विज्ञापनले एमसीसी देशको फाइदाका लागि भए पनि वेवास्ता भैरहेको भन्दै युवाहरुले यसबारेमा चासो राख्नुपर्ने जिकिर गरिएको छ । एमसीसीको अनुदानले विजुली र प्रसारण लाइन बनेपछि नेपाल विद्युतमा आत्मनिर्भर हुने दाबी समेत विज्ञापनले गरेको छ । बढी भएको विद्युत निर्यात गरेर देशलाई आर्थिक रुपमा बलियो बनाउन समेत एमसीसी अनिवार्य रहेको विज्ञापनमा देखाइएको छ ।
राजनीतिक रुपमा समेत विवादित एमसीसीबारे विज्ञापन नै बनाएर प्रसारण गर्न थालेपछि फेरि त्यसको विरोध हुन थालेको छ । राष्ट्रियतामाथि नै खतराको रुपमा लिइएको एमसीसीबारेको विज्ञापन तत्काल प्रसारण रोक्न सर्वसाधारणले दबाब दिन थालेका छन् । जनता समाचार बाट साभार