
काठमाडौं, १७ भदौं । साथीलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद गर्ने फैसला भएको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले महेन्द्र दल गणमा कार्यरत ढकाललाई बिहीबार २५ वर्ष कैद सजाय हुने फैसला गरेको सैन्य प्रवक्ता (सहायक रथी) सन्तोष वल्लभ पौड्यालले जानकारी दिए ।
महेन्द्र दल गणमा कार्यरत ‘साथी’ हुद्दा भरत गुरुङको हत्यामा संलग्न अभियोगमा ढकाललाई प्रहरीले साउन ७ मा चितवनको टाँडीबाट पक्राउ गरेको थियो । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा गुरुङ मृत भेटिएका थिए ।
प्रहरी अनुसन्धानबाट कालिबहादुर गणबाट चोरेको सट मेशिन गन ‘एसएमजी’ प्रयोग गरेर उनले गुरुङको हत्या गरेको खुलेको थियो । कर्तव्य ज्यान, बैङ्किङ कसुर र हात हतियार खरखजाना मुद्दामा संलग्न ढकाललाई सैन्य अदालतले भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने फैसला गरेको छ ।
हतियार ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालिबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङबारे फैसला आउन बाँकी छ । २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले गरेको निर्णयविरुद्ध उनीहरूले जङ्गी अड्डास्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए । विशेष अदालतको निर्णय आउन बाँकी रहेको सैन्य प्रवक्ता पौड्यालले जानकारी दिएका छन् ।