काठमाडौँ । साझा यातायातले आगामी पुसमा तीनवटा विद्युतीय बस आइपुग्ने जनाएको छ । विद्युतीय बसबारे जानकारी लिन साझा यातायातको कार्यालय पुल्चोक पुग्नुभएकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई साझा यातायातले सो जानकारी दिएको हो ।

सो अवसरमा मन्त्री भुसालले विद्युतीय सवारीसाधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोगमा जोड दिनुभएको छ ।डलरमा खरिद गरिएको एलपी ग्यास र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।

मन्त्री भुसालले चार्जिङ स्टेसनका लागि उपयुक्त विकल्प खोज्न पहल गर्ने बताउनु भएकाे छ । उहाँले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रह गर्नुभयो ।

साझा यातायात सञ्चालक समितिका अध्यक्ष कणकमणि दीक्षितले जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पहिलो चरणमा चार महिनापछि तीनवटा विद्युतीय बस आइपुग्ने बताउनु भएकाे थियाे ।

साझा यातयातका अनुसार करबाहेक एउटा बसको मूल्य एक करोड पाँच लाख रुपियाँ पर्नेछ । कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रतिबस एक करोड ५२ लाख रुपियाँ लागत लाग्ने बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय