काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले गठबन्धनमा सहमति नभइ एमसीसीलाई अघि बढाउन नहुने निष्कर्ष निकालेको छ। सिंहदरबारमा बुधबार बसेको बैठकले एमसीसीका बारेमा बिभिन्न चर्चा परिचर्चा भइरहेको भन्दै यसलाई गठबन्धनमा सहमति नभइ अघि बढाउन नहुने निष्कर्ष निकालेको माओवादी संसदीय दलका मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति गर्नुपर्ने मुद्धा भएकाले यथास्थीतिमा एमसीसी पारित हुन नसक्ने बताएको गुरुङले जानकारी दिए । त्यस्तै बैठकले कुटनीतिक क्षेत्रको विरोध गर्न नपाउने बिषयमा सरकार संयम हुनुपर्ने र शान्तिपूर्ण रुपमा बिरोध गर्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने निष्कर्ष निकालेको छ । त्यस्तै दार्चुला घटनामा सरकारले गरेको पहल र प्रयास अपुग रहेको ठहर रहेको गुरुङले बताए । त्यस्तै हुम्लामा नेपाल चीन सीमानामा विवाद नहुदा पनि सरकारले समिति गठन गरेको उनले बताए ।
बैठकले सदनमा रहेका बिधेयकहरुलाई यहि अधिवेशनबाट टुङ्गो लगााउनुपर्नेमा जोड दिएको गुरुङले बताए । त्यस्तै राष्ट्रियताका मुद्धामा सत्तापक्ष र प्रतिपक्षी एक भएर जानुपर्नेमा पनि बैठकले जोड दिएको छ । बैठकमा माओवादी अध्यक्ष दलका नेता पुष्प कमल दाहाल प्रचण्डले सदनमा सशक्त भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए।



