राष्ट्रिय खबर

हल्दिबारीमा १७ वर्षीय राज अधिकारी बने वडा अध्यक्ष, जब सेवाग्राहीले थाहा पाए…


  काठमाडौं   पार्थ मण्डल   २०७८ भाद्र ३०, ०७:५०

(पार्थ मण्डल) झापा । झापाको हल्दिबारी गाउँपालिका- १ नम्बर वडा कार्यालयमा वडा अध्यक्षको कुर्सीमा मङ्गलवार एक बालक बसेका थिए । स्थानीय सेवाग्राहीहरू सेवा लिन वडा कार्यालय पुग्दा वडा अध्यक्षको कुर्सीमा स्थानीय १७ वर्षीय राज अधिकारी बसेको देख्दा उनीहरू आश्चर्य चकित भए । त्यसपछि उनीहरू वडा अध्यक्ष त्रिलोचन सापकोटा ज्यु कहाँ हुनुहुन्छ भन्दै खोजी गर्न थाले । तर, त्यहाँ कार्यरत कर्मचारीले वडा अध्यक्ष बिदा हुनुहुन्छ, आजको वडा अध्यक्ष राज अधिकारी हुन् । केही जिज्ञासा वा समस्या भए उहाँलाई भन्नुहोस् भनेपछि उनीहरू अकमक परे ।

त्यसपछि सेवाग्राहीहरूको मनमा कौतुल्ता जागियो र वडा अध्यक्षको कुर्सीमा बसेका अधिकारीको विषयमा कर्मचारीसँग बुझ्न खोजे । कर्मचारीले उनीहरूलाई प्रस्ट रुपमा जानकारी गराउँदै भने, आज ५७ औं राष्ट्रिय बाल दिवस । वडा कार्यालयका वडा अध्यक्ष सापकोटाले एक दिनको पदीय जिम्मेवारीबाट मुक्त हुँदै बाल क्लब अध्यक्षलाई वडा अध्यक्षको जिम्मेवारी दिएका हुन ।

त्यति कुरा सुनेपछि सेवा लिन पुगेका सेवाग्राहीहरू आलोपालो वडा अध्यक्षको कुर्सीमा बसेका अधिकारी समक्ष पुगेर आआफ्नो समस्या राखे । ती समस्याको समाधान अधिकारीले गरिदिए । वडा कार्यालयमा दिनभरमा १४ जना सेवाग्राही पुगेका थिए ।

चार जना वृद्धा भत्ता, तीन जना विद्युत् जडान, एक जना जन्म दर्ता र पाँच जना विविध कामले वडा कार्यालय आएको बाल क्लब वडा अध्यक्ष अधिकारीले बताए । बाल दिवसको अवसरमा वडा अध्यक्ष सापकोटा ज्युले मलाई एक दिनका लागि वडा अध्यक्ष बनाउनुभयो, उहाँले मलाई वडा अध्यक्षमा नियुत्ती गरी कार्यालयभित्रै शपथ खुवाउँदै वडा कार्यालयबाट हिँडिनुभयो,’ उनले भने । वडा अध्यक्षको जिम्मेवारी र पदीय हैसियतको बारेमा मलाई केही थाहा थिएन, तर पनि जिम्मेवारी पूरा गर्दै सेवाग्राहीको समस्या सुनेर कर्मचारीसँग समन्वय गरेर सहयोग गरिदिए ।

मसँगै वडा स्तरीय बाल क्लबका अन्य पदाधिकारी साथीहरू पनि यस कार्यमा सहभागी भएको उनको भनाई छ ।  ‘एक दिन वडा अध्यक्ष हुन पाउँदा मलाई झन् बालबालिकाप्रति काम गर्ने हौसला बढाएको छ,’ उनले भने । वडा कार्यालयको कामसँगै बाल क्लबका पदाधिकारीहरूले दुई वटा विद्यालयको स्थलगत अनुगमन गरेको थिए । अध्यक्ष अधिकारीसहित बाल क्लबको टोलीले स्थानीय गरमकाली आधारभूत विद्यालय र चिल्ड्रेन गार्डेन बोडिङ स्कुलको अनुगमन तथा निरीक्षण गरिएको क्लबका कोषाध्यक्ष भूमिका कार्कीले बताइन् ।

अनुगमनको क्रममा विद्यालयको अवस्था र समस्याको बारेमा प्रधानाध्यापक ज्युहरूले जानकारी गराएको उनले बताइन् । सो कार्यक्रमको सहजीकरण बालबालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलले गरेका थिए । स्थानीय सरकार के हो र जनप्रतिनिधिले स्थानीय जनताका लागि कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरूलाई दिलाउने उद्देश्यले बाल क्लबका पदाधिकारीलाई एक दिनको जिम्मेवारी दिएर नौलो ढङ्गले बाल दिवस मनाएको वडा अध्यक्ष सापकोटाले बताए । वडा अध्यक्षको जिम्मेवारी बाल क्लबका पदाधिकारीलाई दिएको घटना नेपालमै पहिलो हुनुपर्ने उनको दाबी छ । टाइम्स अफ प्रदेश बाट

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार