काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सरकारले गरेका महत्त्वपूर्ण १५ वटा कामको सूची सार्वजनिक गरेको छ ।
सरकार गठन भएको २ महिनाभन्दा धेरै समयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्नसमेत नसकेको भन्दै आलोचना भइरहेको समयमा उहाँको सचिवालयले सरकारले गरेका कामको सूची सार्वजनिक गरेको हो । सरकारले छोटो अवधिमा धेरै काम गरे पनि काम नै नभएको हल्ला फैलाएपछि काम विवरण सार्वजनिक गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवााके २ महिने कार्यकालमा कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, योग्य र अनुभवी व्यक्तिलाई उपयुक्त निकायमा जिम्मेवारी दिने नीतिअनुसार विद्युत् प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति, एकैदिन ३ लाख मात्रासम्म कोरोना विरुद्धको खोप दिइएको, १८ वर्षमुनिका बालबालिकालाई ४० लाख मात्रा मोर्डनाको खोप ल्याउने विषय टुङ्ग्याएको, बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनालाई तीव्रता दिइएको सरकारको दाबी छ ।
यस्तै कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानको लागि विशेष प्याकेज ल्याएको, सरकारी कर्मचारीको तलब बढाएको, क्यान्सर, मिर्गौला र स्पाइनल इञ्जुरीका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने निर्णय भएको, पाँच लाख गरिब परिवारलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय भएको, काठमाण्डौका १० ठाउँमा सस्तोमा भोजनको व्यवस्था गरिएको, विद्यार्थी लक्षित पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन हुने विषय पनि सूचीमा समावेश छ ।
यस्तै भूमि आयोगको गठन, एमसीसीमा राष्ट्रिय सहमतिको पहल, प्रमुख प्रतिपक्षीलाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद, त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णयलाई पनि सरकारले महत्त्वपूर्ण कामको सूचीमा राखेको छ । सरकारले सार्वजनिक गरेका कामको सूचीमा रहेका धेरै विषय निर्णयको अवस्थामा मात्र रहेका छन् ।



