काठमाण्डाै – नजिकिँदै गरेको दशैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज साेमवार सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना आजदेखि लागू गरेको जनाएको छ ।

‘चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेका हौँ, योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, जाँचमा कडाइ र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गर्ने योजना छ’, महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिनुभयो ।

उहाँले बसपार्क, टिकट काउन्टर, अन्य भिडभाड हुने ठाउँ तथा यात्राका क्रममा कोरोना सङ्क्रमण नियन्त्रणका लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए/नभएको अनुगमन गर्ने, पूर्ण पालना गर्न लगाउने र सचेतनासमेत जगाउने बताउनुभयो ।

योजनासहितको विशेष चेकिङ दैनिक रूपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चार पटकसम्म तालिकाअनुसारकाे चेकिङ गर्दै आएको छ भने नाकाहरूमा चाैबीसै घण्टा जाँच हुने गरेको छ । चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि जाँचलाई समेत कडाइ पार्ने योजनामा उल्लेख छ ।

चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी गाडी चलाउनेको सङ्ख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रिकालीन मात्र नभइ दिनको समयमा समेत जाँच गरी कडाइ गरिने एसएसपी भट्टराईले बताउनुभयो ।

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजु बाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारीसाधनलाई नाकामा कडाइका साथ जाँच गर्ने महाशाखाको योजना रहेको छ । मुख्यतयाः लामो दुरीका गाडीमा क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, बढी भाडा लिए/नलिएको, चालकले रक्सी गरे/नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए/नभएको जाँच गर्ने महाशाखाले जनाएको छ।

महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दुरीका सवारीसाधनमा दुई जना चालक अनिवार्य भए/नभएको ट्राफिक प्रहरीको एप्सबाट समेत जाँच गर्ने उल्लेख छ ।

चाडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने क्षेत्रमा थप जनशक्ति परिचालन गर्ने महाशाखाको योजना रहेको छ ।

यस्तै काठमाण्डाै उपत्यकाको १४ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन हुने भएको छ । नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।

नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभइ चाडपर्वको समयमा हुन सक्ने सवारी चाप, यात्रुसँग बढी भाडा लिइ हुने ठगी, यात्रुसँग हुने अमर्यादित व्यवहार, गन्तव्य नपुगी गाडीबाट ओरालिदिने, स्वास्थ्य मापदण्ड पालना नगर्नेजस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी सजग र सक्रिय रहने एसएपी भट्टराईले बताउनुभयो ।

टिकट काउन्टरहरूमा हुन सक्ने भाडा ठगी नियन्त्रण गर्न, नक्कली टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी गर्न, त्यस्तै टिकट मूल्यअनुसार लिएको छ/छैन जाँच गर्न र पकेटमार तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गर्ने महाशाखाले जनाएको छ ।

तोकिएको भन्दा बढी भाडा असुली गर्ने, लामो दुरीका गाडीमा दुई जना चालक नराख्ने तथा रक्सी गरेर रक्सी खाएर गाडी चलाएको शङ्का लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउन महाशाखाले सर्वसाधारणसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय