कोरोना नयाँ भेरियन्ट
स्वास्थ्य मन्त्रालयले मुलुकभित्रै कोरोना भाइरसको नयाँ भेरिएन्ट आउने जोखिम रहेको भन्दै सतर्क हुन नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले नयाँ भेरिएन्ट बन्ने जोखिम देखिएकाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गर्नुभयो। दोस्रो लहरअघि अल्फा भेरिएन्ट र दोस्रो लहरमा डेल्टा प्रजाति देखिएको भन्दै उहाँले मुलुकभित्रै नयाँ भेरिएन्ट बन्ने जोखिम देखिएको बताउनु भएको हो। दशैंतिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गरेको बेला आवागमन र भीडभाड बढ्न सक्ने भन्दै भेरिएन्ट आउन सक्ने कुरा औंल्याएनुभएको हो । ‘भेरिएन्ट अफ कन्सर्न नभएका तर, ध्यान दिनुपर्ने चाहिँ नयाँ भेरिएन्टतर्फ हो’ उनले भने ।
कोरोना अपडेट
नेपालमा बुधबार थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६७ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय ५१ जना र २ हजार ८ सय ६३ एन्टीजेन परिक्षणका क्रममा २ सय २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७७ हजार ४ सय ३७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ६ सय ३० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ५५ हजार ६ सय ३० संक्रमित निको भएका छन् । हाल नेपालमा २१ हजार १ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४३ जना क्वारेन्टाइनमा छन् ।
नेकपा समाजवादी बैठक
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ । बैठकको दोश्रो दिन बुधबार प्रतिवेदनमा समूहगत छलफलबाट आएको निष्कर्ष प्रस्तुत भएको र सुझाव सहित अध्यक्षको प्रतिवेदन पारित गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । अध्यक्षको प्रतिवेदन पारित भएसंगै बैठक अन्य एजेण्डामा प्रवेश गरेको उहाले बताउनुभयो । बैठकमा अध्यक्ष नेपालले समूहगत छलफलमा उठेको जवाफ दिनुभएको थियो । बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय गरेको छ । त्यस्तै चुनाव चिह्नका बारेमा धेरै सुझाव आएको र छिटै निष्कर्षमा पुगिने खतिवडाले बताउनुभयो । त्यस्तै बिहिबार बस्ने बैठकले राष्ट्रिय सम्मेलन सहितको पार्टीको तीन महिनाले कार्ययोजना टुङ्गो लगाउने र बिहीबार नै पार्टीको महासचिव लगाएत स्थायी कमिटी र पोलिटब्यूरोको चयन गरिने खतिवडाले जानकारी दिनुभयो ।
मंगलबारदेखि सुरु समाजवादीको केन्द्रीय कमिटी बैठक बिहीबार नै सम्पन्न गर्ने तयारी गरिएको छ ।
ताप्लेजुङ अस्पताल बन्द
उपचारका लागि आउने बिरामी नभएपछि ताप्लेजुङमा सञ्चालित कोभिड अस्पताल बन्द गरिएको छ । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित डिचेन डोंगला स्मारक आँखा उपचार केन्द्रको भवनमा रहेको अस्थायी कोभिड अस्पतालको मुख्य प्रवेशद्वारमै ताल्चा लगाई बन्द गरिएको हो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बिरामी नभएपछि कोभिड अस्पताल खाली भएको जानकारी दिनुभयो। बुधबार अपराह्नसम्मको तथ्यांकअनुसार ताप्लेजुङमा अस्पतालमै रहेर उपचार गर्नुपर्ने प्रकृतिका कुनै पनि कोरोनाका बिरामी छैनन् । उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने अवस्थाका बिरामीसमेत नभएको र नपठाइएको ताप्लेजुङ जिल्ला अस्पतालले जनाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङमा २ हजार ५ सय ११ जनामा संक्रमण देखिएकामा २ हजार ४ सय २४ जना संक्रमणमुक्त भइसकेका छन् ।
माओवादी बैठक
नेकपा माओवादी केन्द्रले बिहिबारसम्म पार्टीबाट मन्त्रीमण्डलमा सहभागीहुनेको नाम टुङ्गो लगाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले बिहीबारसम्म राजनीतिक दलसम्बन्धी अध्यादेशका बारेमा टुङ्गो लाग्ने र मन्त्रिपरिषद् बिस्तार हुने ब्रिफिङ गरेपछि माओवादीले मन्त्रीमण्डलमा सहभागी हुनेको नाम टुङ्गो लगाउन लागेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार बिहीबार हुने र माओवादी तर्फबाट सरकारमा सहभागी हुनेको नाम पनि टुङ्गो लाग्ने बताउनुभयो । बैठकमा प्रचण्डले अध्यादेशको कारणले मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भएको बताउनुभएको महराले जानकारी दिनुभयो । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी भइरहेको महराले बताउनुभयो । त्यस्तै बैठकले माओवादीको प्रवास समितिले बनाएको निर्देशिकालाई समेत अनुमोदन गरेको छ । निर्देशिकामा ६ वटा उपक्षेत्र बनाएर पार्टीले काम गर्ने उल्लेख गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले डोर प्रसाद पौडेललाई पार्टी कार्यालयमा नियुक्त गर्ने निर्णय पनि गरेको महराले बताउनुभयो ।
शिक्षा समिति
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले मिर्गौला पिडीतको समस्यालाई गम्भीरताका साथ लिदै डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गरि सहज रुपमा सेवा दिने व्यस्था गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले डायलाइसिस र मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो हुने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ भने मृगौला सम्बन्धी छुट्टै अस्पताल निर्माणका लागि पनि सरकारलाई सुझाव दिएको छ । बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मिर्गौला पिडीतको समस्यालाई सरकारले गम्भीरताका लिएको र निशुल्क उपचारलाई प्रभावकारी बनाउन सरकारको ध्यान केन्द्रीत रहेको बताउनुभयो । जिल्ला र प्रदेशमा नै डायलाइसिस र मिर्गौला प्रत्यारोपण सेवालाई विस्तार गर्ने सरकारको योजना रहेको उहाको भनाई छ । मन्त्री श्रेष्ठले भारतबाट पनि डायलाइसिस मेसिन दिने प्रतिवद्धता प्राप्त भएको बताउनुभयो । त्यस्तै उहाले नेपालमा १ करोड ७७ लाख कोरोनाबिरुद्धको खोप आइसकेको र तीन करोड खोप आउने जानकारी दिनुभयो । उहाले ५६ लाख जनतालाई पूर्ण खोप लगाइएको बताउनुभयो ।
बैठकमा सांसदहरुले अस्पतालमा डायलिसिस गर्दा बिरामीलाई आर्थिक मर्कामा पारिएको गुनासो आएको बताएका थिए । सांसद खगराज अधिकारीले डायलाइसिस मेसिन कम हुँदा बिरामीलाई कुर्न पर्ने अवस्था आएको र डायलाइसिस गर्न आएका बिरामीका कुरुवालाई पनि बिशेष व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो । त्यस्तै सांसद स्वास्थ्य राज्यमन्त्री सञ्जय यादवले डायलिसिस गर्नुभन्दा पहिले पनि खर्च लाग्ने भन्दै यसमा पनि बिशेष व्यवस्था हुनुपर्ने बताउनुभयो ।
बैठकले मृगौला तथा क्यान्सरबिरुद्धको जनचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्न पनि पनि सरकारलाई सुझाव दिएको छ ।
पर्यटनमन्त्री पदबहाली
नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बुधबार शितल निवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीले खड्कालाई शपथ खुवाउनुभएको हो । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बुधबार परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । शपथ लगतै मन्त्री खड्काले सिंहदरबार पुगेर पदबहाली गर्नुभएको छ । पदबहाली गर्दै मन्त्री खड्काले सवै राष्ट्रसंगको सम्बन्धनलाई सन्तुलन कायम गर्दै सरकार अघि बढ्ने बताउनुभयो । परराष्ट्र नीति राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमतिका साथ अघि बढाइने उहाले बताउनुभयो । एमसीसीलाई आफुले प्राथमिकतामा नरहेको र संयुक्त राष्ट्रसंघको भेलामा नेपालको कुटनीतिक बिषयलाई उठाउने उहाको भनाई छ ।
मन्त्री खड्काले परराष्ट्र मन्त्रालयलाई आधुनिक र प्रविधियुक्त बनाउने आफ्नो प्राथमिकता भएको जानकारी दिनुभयो ।
गच्छदार पत्रकार सम्मेलन
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफ्नो राजनीतिक करिअर ध्वस्त पार्न ललितानिवास जग्गा प्रकरणमा तानिएको आरोप लगाउनुभएको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गच्छदारले आफ्नो राजनीतिक संघर्षमा राष्ट्रलाई हानी पर्ने कुनै काम नगरेको भन्दै आफ्नो राजनीतिक जीवन ध्वस्त पार्ने षड्यन्त्र भएको आरोप लगाउनुभएको हो । नेता गच्छदारले संवैधानिक आयोगहरु राजनीतिक प्रभावमा पर्दा निर्दोष व्यक्तिहरु फन्दामा पर्ने र दोषीहरु छुट्ने गरेको धारणा राख्नुभयो । सरकारको राजनीतिक दबाब र प्रतिसोधमा परेर संवैधानिक आयोगले जसरी पनि मुद्दा चलाउन सक्छ भन्ने जगजायर भएको उहाको भनाई छ ।
गच्छदारले प्रधानमन्त्री एवं बिशिष्ठ व्यक्तिहरुको निवास विस्तार गर्ने नेपाल सरकारको गुरुयोजना आफुले भौतिक योजना मन्त्रालयको जिम्मेवारही सम्हाल्नु भन्दा धेरै पहिलेदेखि नै प्रारम्भ भएकाले उक्त योजना आफ्नो निर्देशन र निर्णयले नभएको तर्क गर्नुभयो ।
ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा गराएको भन्दै भ्रष्टाचार अभियोगमा २०७६ माघ २२ गते गच्छदारबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । गच्छदारबिरुद्ध अदालतमा ९ करोड ६५ लाख ७६ हजार बिगो र जरिवानासहित कैद माग गरिएको छ । उहाँ गत ३० असारमा १० लाख धरौटीमा छुट्नुभएको थियो ।
राजधानी निर्माणका लागी माग
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी क्षेत्रमा हालसम्म संरचना निर्माणका लागी कुनै प्रक्रिया अघी नबढ्दा स्थानियहरुले राजधानी निर्माण कार्य अगाडी बढाउन माग गरेका छन् । गोदावरी नगरपालिकाको तेघरीमा भौतिक पूर्वाधार निर्माण लगायतका कार्य अघि बढाउन माग गरिएको छ । राजधानी घोषणा भएको तीन वर्षसम्म कुनै काम हुन नसकेको भन्दै स्थानिय राजनितिक पार्टीहरुले भौतिक संचरना निर्माणको काम अघि बढाउन माग गरेका हुन् ।
कैलालीबाट बिराज रोस्याराको रिपोर्ट
सुदूरपश्चिम प्रदेशको स्थाई राजधानी गोदावरीमा बनाउने गरी प्रदेशसभाबाट बहुमतले पारित भएको करिब ३ बर्ष पुगेको छ । तर हालसम्म राजधानी निर्माणका लागी डिपिआर समेत बन्न सकेको छैन । राजधानी बनाउने निर्णय गरेको ३ बर्ष पुग्नै लाग्दासम्म कुनै काम अघी नबढ्दा स्थानियमा राजधानीनै नबन्ने हो की भन्ने आशंका बढेको छ । राजधानीका लागी संरचना निर्माण थाल्न माग गर्दै स्थानिय राजनितिक दलले मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीलाई ज्ञापनपत्र बुझाएका छन् । दुवै पार्टीले प्रदेश राजधानी घोषित क्षेत्रमा यथाशिघ्र आवश्यक काम थाल्न माग गरेका छन् ।
राजधानी संगै गोदावरीमा रहेको अत्तरिया बसर्पाकलाई प्रदेशस्तरीय बसपार्क बनाएर स्नतरोन्नती तथा कालोपत्रेको काम अघि बढाउन पनि माग गरिएको छ । गोदावरी विकास बोर्ड गठन गरेर धार्मिक महत्व बोकेको गोदावरी क्षेत्रको विकास गर्न र गोदावरी नगरपालिका–६को बिजौरादेखि बडैया जाने बाटो एसियाली विकास बैँकको लगानीमा भइरहेको सडकलाई स्थानीयको भावनाअनुसार निर्माण गर्न समेत माग उनीहरुले गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गाको भोगाधिकार प्राप्त नहुँदा प्रदेश राजधानीमा भौतिक संरचना निर्माण लगायतका काम गर्न नसकिएको बताए । जग्गाको भोगाधिकारका लागि पठाएको प्रस्ताव तत्कालीन केपी ओली नेतृत्वको सरकारले ७ महिनादेखि थन्काएको दाबी गर्दै उनले जग्गा प्राप्ती हुनेबित्तिकै भौतिक संरचना निर्माणको काम थालिने जनाए । डीपीआर निर्माणको काम भने चाडै थालिने उनले बताए । अन्य मागका सम्बन्धमा आफू सकारात्मक रहेकाले छलफल गरेर पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
१२ असोज २०७५ मा गोदावरी नगरपालिका २ र ४ को तेघरी वन क्षेत्रमा प्रदेशको राजधानी घोषणा गरिएको थियो । राजधानी घोषणाका लागि गठित समितिको प्रस्ताव प्रदेशसभाबाट तत्कालीन नेकपा नेतृत्वको सरकारले पारित गरेको थियो । तर राजधानी घोषणा भएको तीन वर्षसम्म प्रदेश सरकारले निर्णय कार्यान्वयन गर्न नसकेको हो । प्रदेश सरकारले राजधानी पूर्वाधार विकास समिति गठन गरिसकेको छ । तर जग्गा प्राप्ती नभएकै कारण काम अगाडी बढाउन नसकिएको पूर्वाधार विकास समितिले बताउँदै आएको छ ।
धानको मुल्य
सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य २ हजार ७ सय ५२ रूपैयाँ र मध्यम किसिमको धानको मूल्य २ हजार ९ सय २ रुपैयाँ तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले यस वर्ष तोकिएको धानको समर्थन मूल्य गत वर्षको भन्दा प्रति क्विन्टल १७ रूपैयाँले बढी भएको जानकारी दिए । गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेको थियो ।.
बिदेश
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा गृहयुद्धको खतरा रहेको चेतावनी दिएका छन् ।
प्रधानमन्त्री खानले तालिबानले समावेशी सरकार बनाउन नसकेमा अफगानिस्तान गृह युद्धमा फस्ने खतरा रहेको चेतावनी दिएका हुन् । साथै अफगानिस्तानमा मानविय र शरणार्थी संकट हुनसक्ने बताउँदै प्रधानमन्त्री खानले यसको असर पाकिस्तानमा पनि पर्न सक्ने बताएका छन् । ‘यदि गृह युद्ध भयो भने त्यसको असर पाकिस्तानलाई समेत पर्नेछ’, उनले भनेका छन् । अफगानिस्तानमा स्थायित्व कायम गर्न र तालिबानको अन्तरिम सरकार गठनमा सहयोग गर्न भन्दै पाकिस्तानले अन्य मुलुकहरुसँग आग्रह गरेको छ । अफगानिस्तानको माटोमा तिनै सैन्य समूह लडेका थिए जो पाकिस्तानी सरकारसँग पनि लडिरहेका छन् । तालिबानले हालै मात्र अन्तरिम सरकारको मन्त्रीमण्डल गठन गरेको छ जसमा महिलालाई समावेश गरिएको छैन् ।
खेल
साफ च्याम्पिनसिपको अन्तिम तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाल र ओमानबीचको खेल आगामी आइतबार कतारको दोहामा नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । कतारमा दुई साता अभ्यासपछि नेपाली टोली असोज ११ गते त्यहिँबाट साफ च्याम्पिनसिप आयोजनास्थित माल्दिभ्स जानेछ ।माल्दिभ्समा असोज १५ गतेबाट साफ च्याम्पियनसिप सुरु हुँदैछ । नेपालले पहिलो दिन नै साविक विजेता समेत रहेको माल्दिभ्सको सामना गर्नेछ । राष्ट्रिय टोलीले शनिबार दोहामा स्थानीय अल बिदा स्पोर्टस् क्लबसँग २–०ले विजयी भएको थियो । कतार जानुअघि नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपाल र भारतबीच भदौ १७ गते भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलमा नेपाल २–१ ले पराजित भएको थियो । यसपटक साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच असोज २४ गते खेल हुनेछ । नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको यसपटकको च्याम्पियनसिप राउन्ड रोविनका आधारमा हुनेछ । शीर्ष २ टोलीले असोज ३० गते फाइनल खेल्नेछन् ।



