संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा ढलमा खसेर फेरि एक बालक बेपत्ता भएका छन् ।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको मिलन चोकमा ढलमा खसेर मंगलबार राति करिब ८ बजेको समयमा बालक बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बालक को हुन् भन्ने अझै खुल्न सकेको छैन ।

राजधानीकै ढल व्यवस्थापन अस्तव्यस्त

महानगरीय प्रहरी प्रभाग बौद्धले राति ८ः२१ बजेको समयमा अन्दाजी १०÷११ वर्षको बालक हराएको सूचना आएको र त्यसको आधारमा खोजी कार्य भइरहेको जनाएको छ । प्रहरीले दुई जना बालक हराएको सूचना आए पनि ढलमा बेपत्ता भएको बालक उनीहरू नै भए नभएको यकिन गर्न बाँकी रहेको जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठोरले बेपत्ता बालकको खोजी कार्य भइरहेको जनाएका छन् । ‘हामीले खोजी कार्य जारी राखेका छौं, अहिलेसम्म पत्ता लाग्न सकेको छैन,’ उनले राजधानीसँग भने ।

स्थानीयले बालक ढलमा खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको खोजी गर्न सामाखुसीबाट प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको विपद् व्यवस्थापनको टोली खटिएको थियो । सो टोलीले त्यहाँ वरिपरिका सबै ढलहरूमा खोजी कार्य गर्दा पनि बेपत्ता बालक नभेटिएपछि फर्किएको प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा बेपत्ता बालक नभेटिएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अन्य जिल्लासँग पनि समन्वय गरेर खोजी कार्य जारी राखेको छ । यसअघि काठमाडौंकोे नयाँ बस्तीमा ढलले बगाएर एक महिला बेपत्ता भएकी थिइन् । सोमबार बेलुका करिब साढे ७ बजेतिर ठूलो पानी परिरहेको अवस्थामा बाटो हिँडिरहेकी अन्दाजी ४० वर्षकी महिला चिप्लिएर ढलमा खसेर बेपत्ता भएकी हुन् ।

यस्तै, माकलबारीमा पनि ढलमा खसेकी एक महिलाको उद्धार गरिएको थियो । ठेकेदार कम्पनीले सडक तथा ढल मर्मत सम्भारका लागि जथाभावी रूपमा बिगारिदिने र लामो समयसम्म नबनाउँदा संघीय राजधानी काठमाडौं उपत्यकाभित्रै यस्ता घटना दोहोरिने गरेका छन् ।

कतिपय ठाउँमा कमिसनको चक्कारमा गुणस्तरीय कामको अभावमा पनि यस्ता घटना घट्ने गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सहरी विकास मन्त्रालय तथा मातहतका निकायका साथै स्थानीय सरकारको पनि ढल तथा सडकको उचित मर्मत सम्भारमा ध्यान नजाने नगरेको तथा समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई मिलेमतोमा कारबाही नगरी छुट दिने गरेको पाइएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय