खोटाङ, १७ असोज । ट्रयाक्टर दुर्घटना हुँदा खोटाङमा एक युवाको मृत्यु भएको छ । स्थानीय खोलाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स १ त ७०७१ नम्बरको ट्रयाक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको १२ नम्बर वडामा पर्ने जालपाका १९ वर्षीय डिलक्स राईको मृत्यु भएको हो ।
उनी ट्रयाक्टरका सहचालक भएका प्रहरीले जनाएको छ । दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–जयराम सडकखण्ड नुनथलामा सँगसँगै आइरहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा ट्रयाक्टर अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनापछि ट्रयाक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।
ट्रयाक्टर दुर्घटना भए लगत्तै प्रहरी नियन्त्रणमा रहेका चालक राई सकुशल रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त ट्रयाक्टर दुर्घटना राति करिब १० बजेको समयमा भएको हो । रासस



