दसैँ बहुसङ्ख्यक नेपालीले मनाउने मुख्य चाड हो । हिन्दु धर्मावलम्बीले धार्मिक अनुष्ठानसहित दसैँ मनाउँछन् भने अरू धर्मका अनुयायीले यसलाई वर्षको सबैभन्दा ठूलो सांस्कृतिक पर्वका रूपमा मनाउने गरेका छन् ।

त्यसो त हिन्दुहरूमै पनि दसैँ मनाउने तरिकामा भौगोलिक क्षेत्रअनुसारको विभिन्नता पाइन्छ । यसले पनि नेपालीका लागि दसैँ धार्मिकभन्दा बढी सांस्कृतिक पर्व बनेको छ । नेपाली भाषा धेरै नेपालीको प्रमुख सम्पर्क भाषा भएजस्तै दसैँ धेरै समुदायले मनाउने पर्व हो ।

दसैँ मूलतः पारिवारिक पर्वका रूपमा मनाइन्छ । देशविदेशमा छरिएका नेपाली सबैभन्दा धेरै यही अवसरमा घर फर्कन्छन् । जीवन शैलीमा धेरै परिवर्तन भइसक्दा पनि दसैँमा मीठो खाने र राम्रो लगाउने चलन बाँकी नै छ । नेपालीले दसैँमा आफ्नो गच्छेले धान्नेभन्दा बढी नै खर्च गर्छन् ।

अर्थात्, दसैँ बर्खा याममा सुस्ताएको बजारलाई गतिशील बनाउने पर्व पनि हो । दसैँमा हुने आर्थिक कारोबारले त्यस वर्षको अर्थतन्त्रको मोटामोटा दिशानिर्देश गर्छ । यसैले खेती लगाइसकेपछि बाली भित्र्याउने बेला नहुँदै मनाइने यो पर्व नेपाली समाजमा यति व्यापक हुनसकेको हो ।

गत वर्षको दसैँमा कोभिड(१९ को चर्कै आतङ्क थियो । पारिवारिक भेटघाटसमेत असहज भएका बेला चाडपर्व पनि रमाइलोसँग मनाउन कसरी मन लाग्थ्यो र रु अहिले खोप र जनचेतनासमेतका कारण पोहोर जति त्रास छैन । यसैले यस वर्षको दसैँ पक्कै पनि अलि रमाइलोसँग मनाइनेछ ।

कोभिडको प्रकोप समाप्त भएको भने छैन । सानो असावधानीले पनि महामारीले भयावह रूप लिन बेर लाग्दैन । यसैले चाँड मनाउने उत्साहमा कोभिडको सङ्क्रमणप्रति हेलचेक्य्राइँ नगरौँ । पोहोरभन्दा यो वर्ष सहज भएजस्तै अर्को वर्ष अवस्था सामान्य हुनसक्छ । अनि मनाउँला निस्फिक्री नेपाली पाराले दसैँ ।

यो २०७८ सालको दसैँ सबै नेपालीका लागि शुभ होस् ! सवालनेपालका पाठक, शुभेच्छुक, विज्ञापन दाता तथा सहकर्मीहरूलगायत सबै नेपालीमा दसैँको अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय