१ कात्तिक, धनगढी । दार्चुलामा विदेशी मुद्रा र स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले महाकाली नगरपालिकाको बाङ्गाबगर क्षेत्रबाट दार्चुलाको दुहु गाउँपालिका–१ पिपलचौरी बस्ने ३० वर्षीय तेजबहादुर बमलाई पक्राउ गरेको हो । उनलाई असोज २९ गते पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० मनोहरप्रसाद भट्टले शंकाको आधारमा बममाथि चेकजाँच गर्दा अवैध विदेशी मुद्रा र स्रोत नखुलेको रकम बरामद भएको जानकारी दिए । उनकाअनुसार थापाको साथबाट दुई लाख ४६ हजार पाँच सय नेपाली रुपैयाँ, ४९ हजार नौ सय ५० भारतीय रुपैयाँ, दुई थान मलेसियन रिङ्गेट, एक हजारको एक थान इराकी डिनार, एक थान चिनियाँ युआन बरामद भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीविरुद्ध विदेशी विनिमय अपचलन शिर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।