काठमाडौँ - बाँकेबाट पैदल हिँडेर आई काठमाडौँमा अनसन थालेका पीडित परिवार तथा महिला अधिकारकर्मी र सरकारबीच सहमति भएको छ । मंगलबार बिहान भएको छलफलमा अधिकारकर्मी र सरकारबीच छानबिन समिति बनाएर त्यसले दिने प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गर्ने सहमति बनेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

गृहका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाउने सहमति भएको हो । यससँगै आन्दोलनको नेतृत्व गरेकी अस्पतालमै अनसनरत रुबी खानले अनसन अन्त्य गर्ने घोषणा गरेकी छन् । उनका अनुसार सहमतिबारे अहिले माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाँकेकी ननकुन्नी धोबी शंकास्पद मृत्यु र बेपत्ता निर्मला कुर्मीका बारेमा सरकारले छानबिन गरेपछि कारबाही प्रक्रिया अगाडि बढ्ने भएको छ । २० दिन पैदल हिँडेर आएर काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिइरहेका पीडित परिवारका आफन्त र महिला अधिकारकर्मी सरकारसँग सहमति भएसँगै अब घर फर्किने भएका छन् ।

यसअघि उनीहरुले न्याय नपाएसम्म नफर्किने अडान राख्दै आएका थिए ।