काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा भोलि ९(बिहीबार) सुदूरपश्चिम लगायत देशका विभिन्न भागमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन्।
बुधबारको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्रीले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने निर्णय भएको हो।
यस्तै सरकारले बाढीपहिरोबाट ज्यान गुमाउनेहरुका परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए।
यस्तै बैठकले बाढीपहिरोबाट प्रभावितलाई घर बनाउन हिमालमा भए पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख उपलब्ध गराउने निर्णय भएको गृहमन्त्री खाँडले बताए।
यस्तै बाढीपहिरोबाट विस्थापितलाई अस्थायी बसोबासका लागि तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।
साथै बैठकले राज्यका सबै संयन्त्र प्रयोग गरेर राहत तथा उद्धारलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।










