झापा : पूर्वी नेपालको काँकडभिट्टा–पानीटंकी सीमा नाकामा भारतीय नागरिकमाथि थप कडाइ गरिएको छ। काम विशेषले नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि नेपाली सुरक्षाकर्मीले सीमा नाकामै थप कडाइ गरेका हुन्।

काँकडभिट्टा सीमा नाकाबाट रोहिंग्या शरणार्थी र बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न थालेपछि सीमा तैनाथ सुरक्षाकर्मीले भारतीय नागरिकमाथि थप निगरानी बढाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टा डिएसपी सुनिल दाहालले जानकारी दिए।

यहाँका सुरक्षाकर्मीले सीमा नाकामा केही समयअघि भारतीय नागरिकलाई पिसीआर रिपोर्ट वा खोप कार्डसँगै भारतीय आधार कार्ड, पेन कार्ड वा मतदाता परिचयपत्र कार्डमध्ये कुनै एउटा परिचयपत्र देखाएर नेपाल प्रवेश गर्ने सजिलै अनुमित दिँदै आएका थिए।

तर, पछिल्लो समयमा भारतीय आधार कार्ड र पेन कार्ड देखाएर रोहिंग्या शरणार्थी र बंगलादेशी नागरिक प्रवेश गर्न थालेपछि भारतीय नागरिकमाथि कडाइ गरिएको डिएसपी थापाले बताए।

‘पहिला आधार कार्ड, पेन कार्ड देखाएर पनि भारतीयलाई प्रवेश गर्न दिइरहेका थियौँ,’ उनले भने, ‘अब भारतीय नागरिकले नाकामा तैनाथ सुरक्षाकर्मीलाई अनिवार्य मतदाता परिचयपत्र देखाउनु पर्ने हुन्छ, आधार कार्ड नक्कली बनाएर ल्याउँदा भारतीय हुन वा अन्य मुलुकका व्यक्ति पहिचान गर्न समस्या भइरहेको थियो, त्यसैले मतदाता परिचयपत्र अनिवार्य गरेका हौँ।’

गत भदौ ३० गते अवैधरुपमा नेपाल प्रवेश गरेका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले राजधानीको बौद्धबाट पक्राउ गरेको थियो। म्यान्माबाट विस्थापित भएका रोहिंग्या शरणार्थीहरू बङ्गलादेशबाट स्थलमार्ग हुँदै काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको खुलासा भएको थियो।

उनीहरू नेपालमा बस्ने योजनाका साथ मानव तस्करको सेटिङमा काँकडभिट्टा नाकाबाट प्रवेश गरेका थिए। काँकडभिट्टा नाकाबाट रोहिंग्या शरणार्थी प्रवेश गरेको जानकारी पाएपछि भारतीय नागरिकमाथि निगरानी बढाएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले बताए।

‘आँखा उपचार, कामकाज वा अन्य कुनै काम विशेषले नेपाल आउने भारतीय नागरिकले पिसीआर रिपोर्ट वा खोप कार्डसँग मतदाता परिचयपत्र अनिवार्य देखाउनु पर्ने हुन्छ,’ एसपी पाण्डेले भने।

कोरोना भाइरस (कोभिड–१९० महामारीपछि सरकारले लामो समय सीमा नाकाबाट आवतजावत रोक लगाएको थियो। सरकारको निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालय झापाले गत असोज १५ गते जिल्लाका सवै नाका खुलाउने निर्णय गरेको थियो।

तर, भारतीय पक्षले नमानेपछि जिल्लासँग जोडिएका काँकडभिट्टा र भद्रपुर लगायतका सीमा नाकाहरू अझै पनि पुरानो स्थितिमा फर्किन सकेका छैनन्। काँकडभिट्टा नाकाबाट आवतजावत सहज भए पनि जिल्लाका भद्रपुर लगायतका अन्य सीमा नाकाहरू ठप्प छन्। थाहा खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय