नेपाल वायुसेवा निगमको २०५४ सालपछि रोकिएको धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा उडान फेरि शुरु भएको छ । धनगढी, टिकापुर, महेन्द्रनगरबाट पहाडी जिल्लामा नेपाल एयरलाइन्सले उडान गर्दै आए पनि २०५४ सालपछि रोकिएको थियो ।

करिब २४ वर्षपछि धनगढीबाट पहाडी जिल्लामा निगमले नेपाल एयरलाइन्सको जहाजबाट उडान शुरु गरेको धनगढी विमानस्थलका पूर्व म्यानेजर जनक बिष्टले बताए । नेपाल एयरलाइन्सले उडान शुरु गरेपछि पहाडी जिल्लावासी खुशी भएका छन् ।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टका अनुसार पहिलो दिन सोमबार धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान भएको हो । नेपाल एयरलाइन्स नेपालगञ्जले धनगढीबाट हुने सबै उडानको ब्यबस्थापन हेरिरहेको उल्लेख गर्दै भट्टले बाजुरा अछाममा पनि चाँडै उडान शुरु हुने बताए ।
डोटी र बझाङ दुवै रुटका लागि नियमित उडान तय गरिएसँगै भाडादर पनि कायम भएको छ । धनगढीदेखि डोटी २ हजार ६ सय १५ र डोटीबाट धनगढीसम्म २ हजार ५ सय १५ भाडादर कायम भएको छ । धनगढीदेखि बझाङको ३ हजार ९ सय ९५ र बझाङदेखि धनगढीको ३ हजार ८ सय ९५ भाडादर कायम भएको छ ।

बेमौसमी वर्षासँगै आएको बाढी पहिरोले पहाडी जिल्लाका राजमार्गहरु अवरुद्ध भएर यातायात सेवा बन्द भएकै बेला सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनमा वायुसेवा निगमले उडान शुरु गरेको हो । हाल सुदूरपश्चिमका पहाडी जिल्लामा समिट एयरले मात्रै उडान भर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय