खोटाङ -खोटाङमा सुत्केरी व्याथा लागेको अवस्थामा अधिक रक्तस्रावको समस्याबाट सिकिस्त बनेकी महिलालाई हेलिकोप्टरबाट उद्धार गरेर अस्पताल लगिएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी २९ वर्षीया मोनिका राईलाई शनिबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

दुई दिनदेखि रक्तस्राव भएकी महिलालाई इमरजेन्सी वार्डमा भर्ना गरे लगत्तै अन्यत्र रेफर गरिएको हो । उनलाई काठमाडौं पठाइएको जिल्ला अस्पतालकी डा. नितु लामाले बताइन् । सामान्यतः ४० हप्तामा सुत्केरी व्याथा लाग्नुपर्नेमा राईलाई ३३ हप्ता ५ दिनमै सुत्केरी व्याथा लागेको पाइएको जिल्ला अस्पतालले जनाएको छ । भिडियो एक्स–रे गरेर हेर्दा बच्चाको सालसमेत तल रहेको पाइएको डा. लामाले बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तेस्रो बच्चा जन्माउने क्रममा अधिक रक्तस्रावका कारण उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेको हो । अवस्था गम्भीर भएपछि स्वास्थ्य कार्यालयले पठाएको पत्र अनुसार निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले हेलिकोप्टरको व्यवस्थाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई सिंहदरबारलाई पत्र पठाएका थिए ।