काठमाण्डाै - भौतिक उपस्थितिमा पठनपाठन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सरकारले विद्यालयहरुलाई आग्रह गरेको छ ।

तिहार र छठलगत्तै सबै विद्यालय खुल्ने तयारी भइरहेको बेला उज्यालोसँगको कुराकानीमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय पुनः सञ्चालन कार्यढाँचा, २०७७ मा भएको व्यवस्था पालना गर्न आग्रह गर्नुभएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यढाँचामा अनिवार्य मास्कको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको ज्वरो नियमित मापन गर्नुपर्ने, हात धुने साबुन वा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यार्थीबीच भौतिक दूरी कायम गर्नुपर्ने, धेरै विद्यार्थी भए सिफ्टमा पठनपाठन गर्नुपर्नेलगायत व्यवस्था उल्लेख छ ।

मापदण्ड पालना भए, नभएबारे पालिकाहरुले अनुगमन गर्नेछन् । तर यसअघि खुलेका धेरै विद्यालयले स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ । साना कक्षाका बालबालिकाले मास्क साटासाट गर्ने, एउटै बोतलमा पानी पिउने तथा भौतिक दूरी पालना नगर्ने समस्या देखिएको छ ।

कतिपय विद्यालयमा शिक्षकले नै मास्क नलगाउने गरेको पाइएको अभिभावकको गुनासो छ । मन्त्रालयका प्रवक्ता शर्माले विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व शिक्षक र प्रधानाध्यापकको भएकाले विद्यार्थीको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो । यस्तै विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरे, नगरेकाबारे जानकारी लिन उहाँले अभिभावकसँग पनि आग्रह गर्नुभएको छ ।

वैशाखमा लकडाउन भएपछि बन्द भएका विद्यालय भदौको पहिलो हप्तादेखि खुल्न थालेका हुन् । सरकारले कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने अधिकार पालिकाहरुलाई दिएको छ । गाउँठाउँका धेरै विद्यालयमा दशैँअघि नै पठनपाठन सुरु भएको छ । तर काठमाण्डौसहित सहरी क्षेत्रका विद्यालयमा भने दशैँ तिहारको बीचमा पनि बिदा हुने भएकाले केही विद्यालय मात्र दशैँअघि खुले । दशैँ तिहारको छुट्टीपछि अब सबै विद्यालय खुल्ने तयारीमा छन् ।

विद्यालय खुले पनि कोरोनाको जोखिम भने कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न सरकार र सरोकारवालाले आग्रह गर्दै आएका छन् ।