स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बिहीवार फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको सयुक्त रूपमा अनुगमनका क्रममा उनले खोपको अभाव नरहेकाले जुनुसुकै खोप केन्द्रमा गई सर्वसाधारणले खोप लगाउन सक्ने बताए ।
‘अब कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पर्दैन,’ मन्त्री खतिवडाले भने, ‘सर्वसाधारणले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्छन् ।’ उनका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल र नेपाल पुलिसको अस्पतलामा २४ सै घण्टा सर्वसाधारणलाई खोपको व्यवस्था गरिएको छ ।
मन्त्री खतिवडाले केही दिनपछि जिल्लामा पनि जुनुुसुकै बेला सर्वसाधारणले खोप लगाउन सक्ने गरी व्यवस्थापन गर्न लागिएको जानकारी दिए । उनले फाइजर खोपबाट देखिने प्रभावलाई न्यूनीकरण गर्न पहिलो चरणमा १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीलाई खोप प्रदान गरिएको बताए ।
‘खोपले के कस्तो प्रभाव पार्छ भनेर हामीले जनशक्तिलाई प्रशिक्षित गर्न पहिलो चरणमा दीर्घरोगीलाई खोप लगाउन थालेका हौं,’ उनले भने ।
मन्त्री खतिवडाले १ महिनापछि १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप प्रदान गरिने बताए । सरकारले ६० लाख फाइजर खोप ल्याउन अन्तिम तयारी गरेको छ । उनले कोरोना भाइरस विरुद्धको खोप शतप्रतिशत जनतासम्म पुर्याउने बताए ।
मन्त्री खतिवडाले कोरोना भाइरसको महामारीका बेला काम गरेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराइने बताए । ‘अर्थ मन्त्रालयसँग रकम माग गरेका छौं,’ उनले भने ।
मन्त्री खतिवडाले कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिका लगायत छिमेकी मुलुकसँग सँगसँगै अगाडि बढ्ने बताए । स्वास्थ्य बीमालाई सहज बनाइने उनले बताए ।



