इलाम । पुर्वी पहाडमा पहिलो पटक इलामस्थित यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतीपत्र (लाइसेन्स) को लिखित परिक्षा र प्रयोगात्मक (ट्रायल) गराउने अनुमती पाएको छ । कात्तिक २७ देखि इलाम कार्यालयअन्तर्गत सेवाग्राहीले अनलाइन फाराम भर्नेगरी यातायात व्यवस्था विभागबाट अनुमति पाएको कार्यालयले जनाएको छ ।
इलामसहित १ नम्बर प्रदेशका पहाडी जिल्लामध्ये धनकुटा र ओखलढुङ्गामा यातायात कार्यालय रहेपनि यी कार्यालयलाई नयाँ लाइसेन्सका लागि परीक्षा र ट्रायलको अनुमति थिएन। तर, यी कार्यालयमध्ये इलामले तीन कामका लागि अनुमति पाएको हो । यसअघि नयाँ लाइसेन्स लिन इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाबाट धाएर झापाको बिर्तामोड पुग्नुपर्ने बाध्यता थियो ।
२०७१ साल मंसिरमा इलाममै कार्यालय खुलेपछि भने पहाडी जिल्लाका सेवाग्राहीले सवारीको नवीकरण र नामसारीलगायतको सेवा पाएका थिए । विभागको वेबसाइटमा नयाँ लाइसेन्सका लागि भर्नुपर्ने फाराम राखिएको छ। कुनै पनि स्थानमा बसोबास गर्ने नेपालीले अनलाइन फाराममै परीक्षा केन्द्रका रूपमा इलामको कार्यालय छनोट गरेपछि उसले यहाँबाट परीक्षा दिन पाउने कार्यालय प्रमुख छविलाल खतिवडाले बताए ।
इलाम कार्यालयका लागि विभागले दैनिक निश्चित कोटामा मात्र आवेदन फाराम लिने अनुमति दिएको छ । मोटरसाइकल, स्कुटर र मोपेडका दैनिक सय, स्कुटरका ४०, कार, जिप, डेलिभरी भ्यानका ३०, टेम्पो, अटो र रिक्साका २०, एस्काभेटरका २०, ब्याकहु लोडरका १५ र ट्रयाक्टरका १५ आवेदन लिन कार्यालयलाई अनुमति छ ।
यीमध्ये पनि कार्यालयले पहिलो चरणमा क्याटागोरी ‘ए’का मोटरसाइकल, स्कुटर र मोपेड, क्याटागोरी ‘बी’का कार, जिप, डेलिभरी भ्यान र क्याटागोरी ‘के’मा पर्ने स्कुटरको मात्र लाइसेन्सका लागि परीक्षा लिने कार्यालयले जनाएको छ । हाल कार्यालयबाट दैनिक १ सय जना भन्दा बढिलाई सेवा प्रवाह गरिरहेको कार्यालयका सुचना अधिकारी रविन्द्र श्रेष्ठले जानकारी दिए ।
अनलाइनमा आवेदन दिएपछि ‘बायोमेट्रिक्स’का लागि आवेदकले कार्यालयमा सम्पर्क गर्नुपर्ने र त्यसपछि साताको ३ दिन परीक्षा सञ्चालन गरिने श्रेष्ठल बताए । स्कुटर र मोटरसाइकलको लाइसेन्स लिन १६ वर्ष, हल्का सवारीका लागि १८ वर्ष र हेभी सवारीका लागि २१ वर्षको उमेर तोकिएको छ ।
कार्यालयमा आवेदकको रक्त परीक्षण ५० र स्वास्थ्य परीक्षण शुल्क सय रुपैयाँ निर्धारण गरिएको छ । कार्यालयमा स्वास्थ्य परीक्षणका लागि कर्मचारीको दरबन्दी नभएकाले प्रयोगशालाको छुट्टै शुल्क लाग्ने जनाइएको छ । सवारी चालकको लाइसेन्स परीक्षा इलाममै हुँदा पूर्वी पहाडी जिल्लाका हजारौं सेवाग्राहीले भौगोलिक हिसाबले सहज रूपमा सेवा पाउने भएपनि आवश्यक जनशक्ति चाहिँ मुख्य चुनौती रहेको कार्यालयले जनाएको छ ।



