काठमाडौं, ५ मंसिर । पतञ्जली योगपीठले आस्था नेपाल र पतञ्जली टेलिभिजन च्यानल दर्ता विना सञ्चालन नगरेको स्पष्ट पारेको छ ।
पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टीभी र आस्था नेपाल टीभी च्यानल नेपालमा दर्ता नभएको स्वीकार गरेको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी पतञ्जली नेपालले टीभी भवनको उद्घाटन गरिएको तर, च्यानल सञ्चालनमा नआएको जनाएको छ ।
भारतीय योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली ग्रुसले नेपालमा दर्ता विना नै टीभी च्यानल सञ्चालन गर्न लागेको भन्ने आरोपबारे स्पष्ट पार्दै पतञ्जली योगपीठले टीभी प्रशारण नगरिएको र प्राविधिक तयारीको क्रममा मात्र रहेको स्पष्ट पारेको हो । प्रधानमन्त्रीको उपस्थितिमा टेलिभिजनको भवन मात्रै उद्घाटन गरिएको विज्ञप्तिमार्फत पलञ्जली योगपीठले जनाएको छ ।
सञ्चालक समितिको बैठकले टीभी सञ्चालनसम्बन्धी निर्णय गरी गएको असोज ८ गते कम्पनी रजिस्टारको कार्यालयबाट प्रमाणीकरण लिइएको योगपीठले जनाएको छ । सरकारको नीति, नियम र कानुनको अधिनमा रही नियमअनुसार अनुमति पाएपछि मात्र टीभी सञ्चालन हुने योगपीठले जनाएको छ ।


आफूहरू विशुद्ध सेवामूलक सामाजिक संस्था भएको दाबी गर्दै पतञ्जलीले भ्रामक सूचना प्रसार नगर्न आग्रह गरेको छ । यसलाई लिएर योगपीठका आईटी इन्चार्ज सन्दीप वाल्मीकिले विज्ञप्ति निकालेर टेलिभिजन हालसम्म दर्ता प्रक्रियामै रहेको जनाएका छन् । उसले टीभी कम्पनी रजिस्ट्रारको कार्यालयमा प्रमाणीकरण गरेर अन्य प्रक्रिया अघि बढेको जनाएको छ ।
‘हाल टीभी प्रसारण गरिएको छैन, केवल प्राविधिक तयारीका क्रममा रहेको छ । सम्माननीय प्रधानमन्त्री ज्यूको उपस्थितिमा श्रद्धेय विश्वविख्यात योगऋषि स्वामी रामदेव जी महाराज र श्रद्धेय आयुर्वेद शिरोमणि आचार्य वालकृष्ण जी महाराजको समुपस्थितिको महत्वपूर्ण अवसरमा शुभसाइतका लागि टीभी भवनको उद्घाटन गरिएको हो,’ पतञ्जलीले भनेको छ । नया पेज बाट साभार



