झापा । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज कार्की ‘बेस्ट पुलिस अफ द मन्थ’ले सम्मानित भएका छन्। कात्तिक महिनामा प्रदेश १ भरमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले कार्कीलाई यो पुरस्कारले सम्मान गरेको हो। हरेक महिना प्रदेश प्रहरीले राम्रो काम गर्ने प्रहरीलाई कदरस्वरूप यस्तो पुरस्कार दिने गरेको छ।

प्रदेश १ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार विभागीय मूल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गरेकाले कात्तिक महिनाको पुरस्कार कार्कीलाई दिइएको बताए। कार्कीले गौरादह नगरपालिका वडा नं. ५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँ हत्याको सफल अनुसन्धान गरी आरोपीहरूलाई कानुनी दायरामा ल्याएको राईले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कात्तिक ११ गते मियाँ बेपत्ता भएका थिए। हत्या गरी घरदेखि दक्षिणतर्फ बाहिर रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा फालेको अवस्थामा उनको शव कात्तिक २६ गते फेला परेको थियो। घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर प्रहरीको छवि उच्च बनाएकाले पुरस्कृत गरिएको प्रदेश प्रहरीले उल्लेख गरेको छ।

यस्तो पुरस्कार पाउने व्यक्तिको फोटोसहित १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भमा महिनाभर राखिने र प्रदेशका इलाका प्रहरी कार्यालय ‘क’ स्तरका कार्यालयमा एक महिनासम्म राखिने गरिएको छ।