यौन जिज्ञासा

बिहे गर्छन् तर यौनसम्बन्ध राख्दैनन्, विवाहित दम्पतीको व्यवहारले सरकारलाई संकट


  काठमाडौं   एजेन्सी   २०७८ मंसिर ६, २१:५६

काठमाडौं। हुन त यौन सम्बन्धको लागि परिपक्व उमेर र दुवै जनाको सहमति भए पुग्छ । तैपनि हाम्रो देशमा विवाहलाई यौन सम्बन्धको अनौपचारिक स्वीकृति मानिन्छ । विवाहपूर्व यौन सम्बन्ध कानुनी रुपमा प्रतिबन्धित नभए पनि हामीकहाँ सामाजिक रुपमा भने यो कुरालाई असहज मानिन्छ । तर, जापान सरकारको अगाडि भने अर्को संकट आएको छ । यहाँ मानिसहरुले विवाह त गर्छन् तर यौनसम्बन्ध राख्दैनन् । जापानमा कैयौं विवाहित जोडीहरुले ‘सेक्स फ्रि’ जीजन बिताइरहेका छन् ।

जापानमा कैयौं मानिसहरु यस्ता छन् जो जीवनभर अविवाहित रहन्छन् । हुन त अरु देशमा पनि आजीवन अविवाहित रहनेहरु छन् तर जापानमा यस्ता मानिसहरुको संख्या अन्यत्रभन्दा उच्च छ । त्यसमाथि विवाह गरेकाहरुले पनि यौनसम्बन्धबाट तर्किन थालेपछि जापानमा जन्मदरमा लगातार गिरावट आइरहेको छ । समाचार एजेन्सी डिपीएको रिपोर्टअनुसार जापानमा यस्ता मानिसहरुको संख्या लगातार बढिरहेको छ जो जीवनभर सिंगल रहन चाहन्छन् । यही कारण जापानमा कूल जनसंख्यामा वृद्धवृद्धाको संख्या लगातार बढिरहेको छ ।

यो स्थिति निकै चिन्ताजनक हो र यसलाई जापान सरकारले पनि अहम संकटको रुपमा हेरिरहेको छ । यसबाट देशको अर्थतन्त्रमा पनि खराब असर परिरहेको छ । मेरिको नामकी महिलाका अनुसार उनी आफ्नी एक मित्रका विषयमा चिन्तित छिन् किनकि उनकी मित्र बच्चा चाहन्छिन् तर उनकी मित्रका पति भने यौनसम्बन्ध राख्नै चाहँदैनन् । मेरिको आफैं पनि पति र बच्चा चाहन्छिन् तर यसको लागि उनले आफ्नो लागि उचित पति भेट्नै सकिरहेकी छैनन् ।

चुओ युनिभर्सिटीका प्रोफेसर मसाहिरो यामडाको अनुमान अनुसार जापानका करिब २५ प्रतिशत युवा सम्भवतः जीवनभर सिंगल रहनेछन् र कहिल्यै बिहे गर्ने छैनन् । रिपोर्टका अनुसार पछिल्लो ३ दशकमा जापानमा सिंगल व्यक्तिहरुको संख्या धेरै बढेको छ । जापानमा पनि सामान्यतया महिलाले घरको काम हेर्ने र पुरुषले बाहिर कमाउने परम्परा चलिआएको छ । तर, देशको अर्थतन्त्र राम्रो नभएका कारण महिलाहरुले राम्रो कमाइ भएका पार्टनर पाउन सकिरहेका छैनन् । अर्कोतर्फ देशमा कैयौं व्यक्ति यसकारण पनि सिंगल छन् किनकि अधिक कामका कारण उनीहरुसँग खाली समय नै रहँदैन ।

२०१५ मा थाहा भएको थियो कि १९९२ को तुलनामा देशमा २०१५ मा आइपुग्दा १८ देखि ३९ वर्ष उमेरका युवाहरुमा सिंगल महिलाको संख्या मात्र २२ लाख बढी भइसकेको थियो । त्यही अवधिमा सिंगल पुरुषहरुको संख्या १७ लाख बढेको थियो । अहिले जापानको कूल जनसंख्या करिब साढे १२ करोड छ । एक अध्ययनमा जापानमा हरेक ४ मध्ये एक महिला र हरेक ३ मध्ये एक पुरुष ३० वर्षभन्दा धेरै उमेर भइसक्दा पनि सिंगल भएको खुलासा भएको थियो । यीमध्ये आधालाई वैवाहिक सम्बन्धमा रुचि थिएन । रिपोर्टअनुसार जापानमा उमेर पुगेका तर भर्जिन अर्थात कुमारित्व नै नगुमाएका व्यक्तिहरुको संख्या पनि बढिरहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार