सानोछँदा अर्थशास्त्रमा पीएचडी उपाधि हासिल गर्ने सपना थियो–गोविन्द गिरीसँग । कम्प्युटर त उनले सपनामा पनि देखेका थिएनन् । भनिन्छ, समयभन्दा अगाडि केही हुँदैन । संखुवासभाको आँखी भुँइमा विसं २०२३ सालमा जन्मिएका गिरीको जीवनमा पनि यही लागू भयो । जो उनले सोचेकै थिएनन् ।
त्यही नसोचकै क्षेत्रमा उनले हासिल गरेको सफलताले उनलाई अमेरिकी सुरक्षा हेर्डक्वाटर पेन्टागनदेखि सर्च इन्जिन सगुन डटकम निर्माणसम्मको सफलता दिलाएको छ । अहिले उनी सगुनलाई फेसबुक र ट्वीटरभन्दा उत्कृष्ट सोसल साइटका रुपमा अगाडि बढाउने सपना लिएर दौडिरहेका छन् । त्यो कसरी ? ट्वीटर र फेसबुकले प्रयोगकर्ताबाट आम्दानीमात्र लिइरहेका छन् । उनी सगुन डटकममार्फत प्रयोकर्ताहरुलाई आफ्नो आम्दानी बाँड्न चाहन्छन् । त्यसैले त उनको स्लोगन नै छ–‘कनेक्ट, सेयर एण्ड अर्न’ । आखिर अविकसित देशको एउटा नागरिकले कसरी संसारकै प्रतिष्ठित प्रविधि कम्पनीलाई टक्कर दिने योजना कसरी बन्याे त ?
अर्थशास्त्री बन्ने सपना
२०४१ सालमा संखुवासभाकै अमरुवा माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आउदै गर्दा गोविन्दको मानसपटलमा अर्थशास्त्रमा पीएचडी गर्ने योजनाको गोरेटो बनेको थियो । नेपाली र अर्थशास्त्र मुख्य विषय लिएर रत्नराज्यलक्ष्मी क्याम्पसमा रात्री सेवामा भर्ना भएपछि अर्थशास्त्री बन्ने बाटोमा गियर बढ्यो उनको । स्कूलमा छँदा पढे मात्रै पुग्थ्यो तर, काठमाडौंमा त्यसो भएन । पढ्नकै लागि जागिर गर्नुको विकल्प थिएन । दिउँसो जागिर गर्थे र राती कलेज पढ्थे । करारमा सरकारी सरहकै जागिर थियो । अधिकृतस्तरको तहमा काम गर्दथे उनी । तर, जागिरमा जम्न र रम्न भने सकेका थिएनन गिरी । २०४६ सालमा देशले निर्दलीय पञ्चायती व्यवस्थाको विकल्प खोज्दै थियो । गिरी चाहीँ आफ्नो जिन्दगीको गोरेटो बदल्न खोज्दै थिए । देशमा त बहुदलीय प्रजातन्त्र आयो र तत्कालका लागि संक्रमण ट¥यो तर, गिरीको जिन्दगी भने भविष्यको खोजीमै भौतारिइरह्यो । कस्तूरीकाे वास्ना थाहा पाउँदा
२०४८ सालतिरको कुरा हो । नेपालीमा स्नातकोत्तर गर्दै थिए उनी । ‘साहित्यमा सामान्य रुची थियो । गीत, कविता लेख्थे तर, त्यसैमा डुब्ने रुची थिएन । शिक्षक बन्ने चाहना पनि थिएन’ भन्छन्, ‘जिन्दगीलाई कता लैजाने भन्ने गम्भीर मोडमा थिएँ ।’ त्यसबेला काठमाडौमा धेरैलाई कम्प्युटरले मोहित गरेको थियो । त्यही मोहजालमा गिरी पनि परेका थिए । कम्प्युटरको चर्चाले उनलाई लोभ्याएको थियो । कम्प्युटरलाई जादु जस्तै सोच्दथे धेरैले । गिरीलाई पनि त्यस्तै लाग्थ्यो । भन्छन्, ‘कम्प्युटर भनेको सबै चीज आफै गर्ने जादु जस्तै होला भन्ने लागेको थियो । तर, त्यस्तो हुँदो रहेनछ ।’ पुतलिसडकमा गौतम कम्प्युटर इन्ष्टिच्युटले कम्प्युटर सिकाउथ्यो त्यसबेला । त्यहीँ हो उनले पनि कम्प्युटर छोएको । ‘गौतम कम्प्युटर इन्ष्टिच्युटमै टाइप सिके, त्यसबेलासम्म कम्प्युटरसँगै माया बसिसकेछ । कम्प्युटर देख्यो कि छोइहाल्न मन लाग्ने, खेलाइहाल्न मन लाग्ने भयो’ उनले सुनाए ।
हो, यही बेला कस्तूरीझै आफ्नै सुगन्ध थाहा नपाएर भौतारिएका गिरीले आफ्नो वास्ना पत्ता लगाए । भन्छन्, ‘मेरो विषय अर्थशास्त्र होइन रहेछ भन्ने मैले त्यही बेला थाहा पाए ।’ त्यसपछि सुरु भयो कम्प्युटर जान्ने एक सुत्रीय अभियान । अब नेपालमा होइन, विदेशमै गएर कम्प्युटर पढ्ने इच्छा जाग्यो उनलाई । भारतको पुनामा कम्प्युटर पढ्न पाइन्छ भन्ने सुनेका गिरीले अमेरिका र पुनामा एकै पटक आवेदन गरे । पहिलो रिप्लाई अमेरिकाबाटै आयो, नेब्रास्काको बेल्भ्यूइ युनिभर्सिटीबाट । भारतको पुनासम्म जाने मनस्थितिमा रहेका उनलाई अमेरिकाकै अवसर जु¥यो । अमेरिकामा कम्प्युटर पढ्दा एक सेमेस्टरको मासिक शुल्क १३ सय डलर तिर्नुपर्दथ्यो । त्यो सबै खर्च घर परिवारले बेहोर्न सक्ने अवस्था थिएन । अमेरिकामा काम गर्दै पढ्न पाइन्छ भन्नेसम्म सुनेका थिए उनले । त्यही आशामा अमेरिका होमिए १९९३ मा । साथमा थियो एक सेमेस्टरलाई पुग्ने १३ सय डलर ।
अमेरिकामा भौँतारिदा
‘कोलोराडोमा पुग्दा नै आधा डिप्रेस भइसकेको थिए’ उनी अमेरिकाको सुरुवाती दिनहरु सम्झन्छन् ‘कोलोराडो नै भवसागर लाग्यो । साथीहरुले सोधे, पैसा कति बोकेर आएको छस् ? ट्युशन शुल्क तिर्ने मात्रै छ भनेपछि उनीहरुले नै जागिर खोजिदिए । जागिर पाउँदा जेट ल्याकबाट व्यूझेकै थिइन् ।’ ‘अमेरिकामा पाएको पहिलो जागिर थियो हाउस किपिङ । घण्टाको दुई डलर ५० सेन्ट पाइन्थ्यो । काम निकै कठिन थियो । शारीरिक परिश्रम बढी पर्ने भएकाले निकै थकित भइन्थ्यो’ गिरीले भने । अमेरिकामा पनि काम र पढाइसँगै सुरु भयो । ‘मेरो युवा अवस्था खासै मनोरञ्जनात्मक भएन । विशेष जोस जाँगर हुने समय नेपालमै वितिसकेको थियो । अमेरिकामा पनि भविष्यप्रतिको चिन्ताले नै पिरोल्थ्यो । त्यसैले, अरु विद्यार्थीजस्तो रमाइलो गर्ने भन्दा पनि भविष्यप्रतिकै प्रश्नले चिमोटिरहन्थ्यो’ उनले विगत सुनाए । ग्रिनकार्डको चक्कर
काममा बढी खटनुपर्ने भएपछि पढाई गतिलो नहुने छाँट देखियो । उनी भन्छन्, ‘कामकै कारण पढाइमा समय दिन नसक्ने भइयो । नेपालमा पनि कामै गरेर पढियो । यहाँ पनि त्यसैगर्दा पढाइ गतिलो हुँदैन । राम्रोसँग पढन् सकिन् भने म सधै लफङ्गो भइरहन्छु भन्ने लाग्यो । ’
त्यसपछि फेरि विकल्पको खोजी सुरु गरे उनले । ‘के गर्दा पुरा समय पढ्न पाइन्छ भन्ने उपायको खोजीमा लागे । एउटै उपाय थियो ग्रिनकार्ड । ‘ग्रिनकार्डको लागि आवेदन गरिहाले’ उनले सुनाए । आवेदन गरेको ११ महिनामै ग्रिनकार्ड पनि पाइहाले उनले । त्यसपछि भने जिन्दगीको जहाजले सहज अवतण गरेको महसुस भयो उनलाई । अमेरिकाको स्थायी बासिन्दा भएपछि पढाइलाई पनि सजिलो भयो । अध्ययन खर्चको लागि स्टुुडेन्ट लोन लिन पाइने भएपछि र सुरुबाटै अध्ययन थाले गिरीले । ‘नेपालमा नेपाली माध्यममा पढेको थिए । अंग्रेजी लेख्न र बोल्नको लागि राम्रो आधार थिएन । व्याकरणीय रुपमा अंग्रेजी वाक्य सही लेख्न जान्दैनथे’, उनी विगत स्मरण गरे, ‘त्यही कारण अमेरिका गएर पनि मैले झण्डै दश वर्ष पढें ।’ अध्ययनकै लागि उनी विभिन्न सहर भौतारिए । नेपालबाट नेब्रास्का पुगेका गिरी एक सेमेस्टर पुरा गर्नासाथ ग्रिनकार्डको चक्करमा डिसी पुगे । त्यहाँ होटलमा काम गरेर गुजारा चलाए । ग्रिनकार्ड पाएपछि त्यहीको सामुदायिक कलेजमा भर्ना भएर अङ्ग्रेजी भाषा सुधारे । सीसीआई पढ्दा
सन् १९९७/९८ तिर मिसिकनको एन्ड्रो युनिभर्सिटीमा कम्प्युटर साइन्स अध्ययन गर्न गए उनी । त्यहाँ सि प्लस, फ्रन्ट इन, व्याक इनलगायतका प्रोग्रामिङ पढे । तर, प्रोग्रामिङ सिकेपछि उनलाई यसमा पनि रस बस्न सकेन । ‘मेरो क्षेत्र प्रोग्रामिङ होइन भन्ने लाग्यो । एन्ड्रो युनिभर्सिटीमा करिब डेढ वर्ष वित्यो । त्यसपछि डिसी गएर जर्ज मेसन युनिभर्सिटीबाट माइक्रोसफ्ट, सिस्कोलगातका विषय अध्ययन थाले’ उनले अगाडि थपे, ‘नेटवर्किङ कम्युनिकेशन मिडियातिर जान्छु भन्ने लाग्यो । त्यसपछि इमेल सिस्टमले कसरी काम गर्छ ?, विभिन्न डिभाइसले एकअर्कामा कसरी कुरा गर्छन भन्ने अध्ययन गर्न थाले । सिस्कोको सीसीआई पनि पढे ।’ सीसीआई विश्वमै निकै कठिन परीक्षा मध्येमा पर्छन । त्यसबेला उनले सीसीआईइ पास गर्दा विश्वमै एक लाख मानिसले मात्रै यसको सर्टिफिकेट लिएको उनले सुनाए । सीसीआईइ उत्तीर्ण गरेकाले १५० डलर तलबको जागिर पाउन सक्थे । तर, गिरीले त्यतातिर ध्यान दिएनन् । बरु उनी भर्जिनियाको स्ट्याटफोर्ड यूनिभर्सिटी गए र वायरलेस कम्युनिकेशनमा एमएस अध्ययन गर्न थाले । पेन्टागन प्रवेश
एमएस अध्ययन गर्दै गर्दा अमेरिकी सुरक्षा निकाय पेन्टागनमा जागिरको अवसर पाए । २००३ मा सिस्टम इन्जिनियरको रुपमा पेन्टागन प्रवेश गरेर सरकारी जागिरे भए उनी । पेन्टागन अमेरिकी सुरक्षा निकायको सर्वोच्च संस्था हो । जसले अमेरिकाको सुरक्षा व्यवस्था त हेर्छ नै विश्वभर अमेरिकी सैनिक परिचालन र व्यवस्थापनको निर्णय पनि त्यहीँबाट हुन्छ । सैनिक डिपार्टमेन्टमा सिस्टम इन्जिनियरको रुपमा गिरीको जिम्मेवारी तोकिएको थियो । पेन्टागन भित्र जागिर पाउन त्यति सजिलो छैन । कुनै कारण प्रहरीमा उजुरी परेका, कुनै शुल्क समयमा नतिरेको रेकर्ड भएका, गाडीको लाइसेन्स शुल्क तिर्न ढिलाइ गरेका व्यक्ति समेत पेन्टागनको जागिरको लागि अयोग्य हुन्छ । ‘त्यहाँको जागिरको लागि भर्जिन क्यारेक्टर चाहिन्छ । यही कारण पेन्टागनमा काम गर्ने मान्छेहरु आफै ड्राइभ नै गर्दैनन् । कलेजमा अध्ययन गर्दा साथी–साथीमा सामान्य विवाद हुँदा पनि प्रहरीमा उजुरी पर्ने हुँदा धेरै अमेरिकी युवाहरु पेन्टागन भित्रको जागिरको लागि अयोग्य हुन्छन्’ पेन्टागनले खोज्ने भर्जिन क्यारेक्टरका बारेमा गिरीले एक सासमा सुनाए । पेन्टागनमा काम सुरु गर्दा वार्षिक न्यूनतम ६० हजार डलरदेखि अधिकतम् १५० हजार डलरसम्म पाइन्छ । जागिरमा स्तरोन्नतिभएसँगै तलब र अन्य सुविधाहरु पनि बढ्दै जान्छन् । भर्जिन क्यारेक्टरको मानिस पाउन कठिन हुने भएकाले पनि पेन्टागनमा जागिर गर्नेको सुविधा अन्यत्रको तुलनामा आकर्षक नै हुन्छ । नेपालमा जागिर गरेर रात्री क्याम्पस पढ्नु पर्ने एक नेपालीको लागि पेन्टागनको जागिर निकै ठूलो उपलब्धि थियो । गिरीले पेन्टागनमा झण्डै १२ वर्ष काम गरे । सन् २०११ मा पेन्टागनमा आतंकवादी हमला हुँदा उनी घरमै थिए । कारण, उनको जागिरको सिफ्ट दिउँसोको थियो । विहानी सिफ्ट काम गर्नेहरुमध्ये धेरै विस्फोटमा परे । उनी भन्छन्, ‘म त्यसबेला पेन्टागनभित्रै भएको भए अहिले जिवित हुने थिइन । मेरो टेबुलसँगैका दुई जना साथीहरु मरे ।’ सन् २०१३ मा भने उनले पेन्टागनको जागिरबाट विदा लिए । त्यसबेलासम्म उनी सिनियर सिस्टम अफिसर भइसकेका थिए । यस्तो आकर्षक जागिरबाट विदा लिने निर्णय किन गर्नुभयो भन्ने प्रश्नमा उनले भने, ‘पेन्टागनको जागिरमा खासै रमाउन सकिएन् । सुरुका एक दुई वर्ष रमाइलै भयो । पेन्टागनको काम गर्ने तरिका देखियो । आर्मीका प्रमुखहरुसँग भेट हुँदा खुशी नै लाग्यो । तर, पेन्टागनलाई सबै हिसाबले नियालिसकेपछि त्यो एक्साइटमेन्ट पनि सकियो ।’ पेन्टागनको नीति यस्तो छ की, त्यहाँबाट जागिर छाडेको पाँच वर्षसम्म कहाँ जाने, कसलाई भेट्ने सबै कुरा रिपोर्ट गर्नुपर्छ । गिरी अहिले पनि त्यही नियम अनुसार आफ्नो दैनिकी पेन्टागनमा रिपोर्ट गरिरहेका छन् । गुगललाई चुनौति दिदै सगुन लञ्च
गिरीले पेन्टागन छाड्नुको अर्को मूख्य कारण थियो, विश्वमै चर्चा कमाएको सर्च इन्जिन गुगल डटकमको काम गिरीलाई चित्त बुझेको थिएन । गुगलको सर्च रिजल्टमा गिरीले प्रश्न उठाएका थिए । उनको अध्ययनबाट गुगलसँग प्रभावकारी नतिजा दिन सक्ने प्रविधि छैन भन्ने पत्ता लागेको थियो । गुगलको भन्दा उत्कृष्ट सर्च इन्जिन बनाउन सकिन्छ भन्ने उनमा आँट थियो । उनी त्यही काम गर्न चाहन्थे । यसका लागि पेन्टागनको जागिर अवरोधक बन्यो र छाडिदिए ।
हुनत उनले २००६ देखि नै पेन्टागन छाड्ने सोच बनाएका थिए । उनले त्यही बेलादेखि गुगललाई चुनौति दिने गरी सर्च इन्जिन बनाउने काम थालेका थिए ।
तीन वर्षको मेहनेतपछि नयाँ सर्च इन्जिन तयार भयो । नाम जुराइयो–‘सगुन डटकम’ । ‘नेपालीको तर्फबाट उपहारको रुपमा भन्ने अर्थमा र नेपाली नाम नै होस भन्ने इच्छाले पनि सगुन नाम छनोट गरिएको हो’ सर्च इन्जिनको नाम सगुन राख्नुको कारण बताए उनले । २००९ फेब्रुअरीमा लन्च भयो सगुन डटकम । यसको लञ्च पनि अलि हतारमा गरिएको थियो । कारण, उनका बुबा थिए । गिरीका बुबाआमा अमेरिकामा जाँदा पनि गिरी भने बुवाआमासँग सामान्य बोलबाचाल मात्रै गर्थे र कम्प्युटरमै व्यस्त हुन्थे । ‘अमेरिकामै रहँदा उनको बुबालाई क्यान्सर भयो । सबै प्रयास गर्दा पनि उपचार सम्भव नभएपछि नेपाल ल्याइयो । अमेरिकामा छोराको लगाब देखेका बुबाले मर्नुअघि सगुन डटकम लञ्च भएको देख्ने इच्छा गरे । यता बुबाको अवस्था निकै नाजुक भइसकेको थियो’ त्यसबेलाको पीडादायी अवस्था उनी सम्झन्छन्, ‘सगुन डटकम लञ्च गरेपछि कान्तिपुर दैनिकले लेखेको समाचार बुबालाई लगेर देखाइयो । त्यसको चार घन्टापछि बुबाको स्वर्गारोहण भयो ।’ सगुनको प्रभाव यतिसम्म भयोकी, लञ्च भएको भोलिपल्टै गुगलबाट फोन आयो । गिरीले भने, ‘सगुन बारेमा जान्ने विभिन्न प्रश्न गरे । कस्तो प्रविधिको विकास गरेको छ भन्ने पत्ता लगाउने र आगामी योजनाको बारेमा जान्ने प्रयास रहेछ ।’ सगुन डटकमको बारेमा सोधिखोजी गर्ने गुगलका ती व्यक्ति अहिले फेसबुकमा सेकेन्डम्यान छन् । सगुन डटकम लञ्च त गरियो तर, त्यसलाई प्रभावकारी रुपमा सञ्चालनको लागि ठूलो टिमको आवश्यकता पर्दथ्यो । त्योभन्दा महत्वपूर्ण थियो पैसा । गिरीसँग प्रविधि थियो तर, पैसा थिएन । फेरि सन् २००९ मा नै अमेरिकाले आर्थिक मन्दीको सामना गर्नुप¥यो । तर, पनि न्यूयोर्कको एउटा कम्पनी सगुन डटकममा ४ मिलियन डलर लगानी गर्न तयार भएको थियो । ‘एक महिना झुलाएपछि अन्तिममा उसले लगानी गर्न नसक्ने बतायो । त्यसपछि सगुनबाट गुगललाई चुनौति दिने खेल नै सकियो’ नमिठो विगत पस्किए । आफ्नो योजना विफलको संघारमा पुग्दा गिरी दुई रात त अस्पताल नै बस्नु प¥यो । ‘हर्टअट्याक हुने अवस्थामा पुगेकी भन्ने लागेको थियो’ उनले भने, ‘दुई रात अस्पताल बसेपछि सामान्य भएर फर्किए ।’ अब पालो फेसबुकलाई चुनौति दिने
सर्च इन्जिनको रुपमा सगुनलाई अगाडि बढाउने अवस्था नभएपछि उनले सोसल मिडियातिर लाग्ने विचार गरे । सगुन बनाउँदा नै उनले प्रविधि क्षेत्रको बजारको बारेमा भेउ पाइसकेका थिए । ‘अबको बजार सर्च इन्जिनको भन्दा पनि सोसल साइटकै हो भन्ने लागेको थियो । त्यसैले, सगुन डट कमलाई सोसल साइटको रुपमा नविकरण ग¥यौं’ उनले भने ‘महिनामा १८७ मिलियन मानिसले गुगलमा सर्च गर्दा रहेछन् । तर, त्यही समयमा ५०० मिलियन मानिसले इन्फरमेशन शेयर गर्दा रहेछन । त्यसैले, अबको बजार इन्फमेशन शेयरिङको हो भन्ने लागेर हामीले सोसल साइटमा ध्यान केन्द्रित गरेका हौं । सर्च त सोसल मिडियामा पनि अटाउन सक्छ ।’ अहिलेका चल्तिका फेसबुक, ट्वीटरभन्दा पनि उत्कृष्ट सामाजिक सञ्जाल विकासको योजना बोकेर हिडेका छन् गिरी । उनी भन्छन्, ‘अब सामाजिक सञ्जालको प्रयोग गर्ने मात्रै होइन । त्यसलाई प्रयोग गरेवापत प्रयोगकर्ताले आम्दानी गर्न सक्नुपर्छ । हामी प्रयोगकर्तालाई कमाउने अवसर दिन्छौं ।’ सगुन डटकमलाई स्थापित गर्नका लागि ५ देखि ७ वर्षको योजना लिएर हिडेका छन् उनी अहिले । प्रशस्त बजेट हुने हो भने सगुन डट कमलाई अहिले पूर्ण रुपमा विकास गर्न सक्ने अवस्थामा छौं’ उलने भने, ‘रिसर्च भइसकेको छ । अब त्यसलाई व्यवहारिक प्रयोगमा ल्याउन मात्रै बाँकी हो । सगरमाथा चढ्दा आधार शिविरमा पुगेको अवस्थामा हामी छौं ।’ उनले सगरमाथाको आधार शिविर मानेको भारतमा रहेको उनको अफिसमा अहिले मार्केटिङ, डिजाइनर र इन्जिनियर गरेर १८ जना कार्यरत छन् । तत्कालै अरु ९ जना थप्ने योजना छ । अमेरिकामा सर्भर साइटमा पार्ट टाइम स्टाफबाट सहयोग लिइरहेका छन् । त्यसबाहेक, नेपालबाट ४ जनाले सगुनका लागि काम गरिरहेका छन् । सगुनकाे अफिस छिट्टै नेपालमै स्थापना गर्ने याेजना छ उनकाे । नेपालमा पनि प्रविधिमा राम्राे याेगदान गर्न सक्ने मान्छे छन भन्ने सन्देश दिनका लागि नेपालमै अफिस राख्न लाग्या गिरीले बताए । अमेरिकामा बसेर सोच्ने मान्छकोे अफिस चाँही किन भारतमा ? उनी जवाफ दिन्छन्, ‘भारत सूचना प्रविधि क्षेत्रमा उदयिमान बजार हो । कम लगानीमा ठूलो प्रतिफल दिन खोज्नेका लागि अहिले भारत आकर्षक बजार हुँदैछ । अर्कोतर्फ, दक्षिण एसियाली मुलुक र चीनलाई समेत लक्षित भारतमा कार्यालय राखिएको हो ।’ उनले थप प्रस्ट्याए, ‘भारतमा सगुनले आइआईटीसँग सहकार्य गरिरहेको छ । फेसबुकदेखी ट्वीटरसम्म, माक्रोसफ्टदेखि गुगलसम्ममा काम गर्ने अधिकांश कर्मचारी भारतीय मुलकै छन् । अमेरिकामा भएका स्टार्टअप कम्पनीमध्ये ३७ प्रतिशत स्टार्टअप कम्पनी भारतीय मुलकै मानिसले होल्ड गरेका छन् । उनीहरुको सक्षमता उपयोग गर्नका लागि भारतमा कार्यालय खोलिएको हो ।’ कनेक्ट, शेयर र अर्न भनेर बजार प्रवद्र्धन गरिरहेको सगुन डटकमसँग कुनै दिन फेसबुकलाई माथ गर्ने लक्ष्य छ । अहिले चल्तिका सोसल साइटका प्रयोगकर्ताको गतिविधिले इन्फरमेशन शेयरिङ मात्रै हुन्छ । तर, सगुनले भने प्रयोगकर्तालाई उसको क्रियाकलापको आधारमा आम्दानी भएको रेभिन्यूमध्ये निश्चित प्रतिशत उसैलाई दिने अवधारणा ल्याएको छ । जुन अहिले भइरहेका सोसल साइटमध्ये नौलो अवधारणा हो ।
चुनौतिका पहाड सगरमाथा जत्तिकै अग्लाे
तर, यसलाई स्थापित गर्न थोरै पापड बेलेर मात्रै हुँदैन भन्नेमा उत्तिकै सचेत छन गिरी । भन्छन्, ‘हाम्रो मोडल स्थापित भयो भने दुनियाँमा अहिले भएका सबै स्थापित सोसल मिडियाको लागि चुनौति हुन्छ । अहिलेका ठूला कम्पनीका विजनेश मोडल सगुनको विजनेश मोडलसँग मिल्दैन । त्यसो हँुदा हामी माथि हुन्छौ । यही कारण, हामीलाई माथि जानै नदिने खेल पनि हुन सक्छ’ उनले आफ्नो चुनौती प्रस्ट रुपमा बुझेका छन् । गिरीले सगुन डटकम सञ्चालनको लागि सगुन फाउण्डेशन बनाएका छन् त्यहीबा सगुन डटकमको प्रवद्र्धन गरिरहेका छन् । दोस्रो भर्खर ८ नोभेम्वरमा लञ्च हुँदासम्म यसका लागि ५ लाख डलर खर्च भइसकेको छ । व्यवसायीक लगानीकर्तासम्म पुग्नु अगाडी अझै ५ देखि १० लाख डलरसम्म जुटाएर खर्च गर्ने उनको योजना छ । त्यसबेला सगुनको मोवाइल भर्सन पनि आइसकेको हुनेछ । अहिले सगुनको प्रयोगकर्ता २ लाख ५० हजार छन् । मोवाइल भर्सनसम्म पुग्दा प्रयोगकर्ताको संख्या ५० लाखभन्दा बढी पु¥याउने योजना छ । अहिलेको परिकल्पनाको उचाईमा सगुनलाई पु¥याउँदा ५ देखि ७ हजार मानिसले रोजगारी पाउँछन् । गिरीको योजना अनुसार काम हुँदा अबको ५ देखि ७ वर्षमा सगुनले वार्षिक सय विलियनभन्दा बढी आम्दानी गरेको हुनुपर्दछ । नेपालीले विदेशमा गएर हासिल गरेको सफलताले नेपालको माटोलाई विश्वभर चिनाएको हुन्छ । गिरीको सफलताले त नेपाललाई प्रतिभाशाली व्यक्तिहरुको देश भनेर स्थापित गर्नेछ । बुद्ध र सगरमाथाले धानेको नेपालको पहिचानमा प्रविधिको प्रतिष्ठा जोडिने छ । त्यो प्रतिष्ठाका पर्याय बन्न सकुन गोविन्द गिरी ।
यस समाचारलाइ हामीले नेपालीपत्रबाट साभार गरेका हौ |










