बन्दिपुर गाउँपालिकाले गाउँपालिकालाई मासु र दूध क्षेत्रमा ‘हब’ बनाउने गरी पशुपालन व्यवसायलाई प्राथामिकता दिएको छ ।

गाउँपालिकाले पशुपालन किसानलाई प्रोत्साहन गर्न दूध तथा मासुमा अनुदानका कार्यक्रमलाई प्राथमिकता दिएको र पाँच वर्षभित्र आत्मनिर्भर बनाउने लक्ष्यसहित बन्दिपुर–१ नहालामा पशुपक्षी विकास शाखाको भवन निर्माण गरेर सेवा दिन थालेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीयवासी छलिमाया श्रेष्ठले करिब रु एक करोड मूल्य बराबरको उन्नाइस आना जग्गा निःशुल्कः उपलब्ध गराएपछि नेपाल लाइभस्टक सेक्टर इनोसेसन (एनएलएसआइपी)को सहयोगमा रु एक करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

गाउँपालिकाले दूध प्रतिलिटर एकरुपैयाँ अनुदान दिनाका साथै मासु उत्पादनमा पनि प्रोत्साहनका लागि अनुदान दिने तयारी गरेको छ । यस भवनबाट पशुपालन किसानलाई दिइने सेवा, उत्पादन वृद्धि, पशुमा कृत्रिम गर्भाधान, प्रयोगशाला, प्राविधिक सुझाव, घाँसको बिरुवा वितरण र आवश्यक सिफारिस दिन सहज भएको पशुपक्षी विकास शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिनुभयो ।

उक्त भवनबाट सेवा प्रवाह गर्न थालेसँगै गाउँपालिकाका व्यावसायिक पशुपालन किसानलाई थप प्रोत्साहन गर्न सहज भएको उहाँले बताउनुभयो । व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न थालेकाले यसतर्फ उनीहरूकोे आर्कषण बढ्दै गएको हो।