नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्योलग्रस्त राजनीतिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अगाडि बढाउन लाग्ने बताएका छन् । मुलुक यसप्रकारको गतिहीनताबाट लामो समय जान नसक्ने भन्दै छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने उनले बताए ।
काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रवार पदबहाली गर्दै ओलीले देशको समय बर्बाद हुन नदिन ताजा जनादेशमा जानुपर्ने बताएका हुन् ।
‘राष्टिय राजनीति जसरी अन्योलग्रस्त भएको अवस्था छ, यस स्थितिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अगाडि बढाउने क्रममा लाग्छौँ हामी । देश अहिले वर्तमान गठबन्धनको सरकार छ, यसबाट देश चलिरहेको छैन । सबैले अनुभूत गरेको कुरा हो, भन्न नभन्ने बेग्लै कुरा हो । सरकार चलिरहेको छैन, यस्तोलाई चलेको भन्ने हो भने नचलेको केलाई भन्ने ?,’ ओलीले भने, ‘यसप्रकारको गतिहीनता मुलुकले लामो समय भोग्न सक्दैन । छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्छ । देशको समय बर्बाद गर्नु हुँदैन ।’
ओलीले सरकार चौतर्फी असफल भएको आरोप लगाए ।



