चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य शुरू हुँदैछ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्दैछन् ।
अध्यक्ष दाहालले हालसालै शुरूआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए ।
यातायात कार्यालयमा भीडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत अनलाइन टोकन प्रणाली लागू गरिएको छ । जसका लागि चितवन यातायात डट बागमती डट जिओभी डट एनपीमा लगइन गरी आफ्नो विवरण भरेर टोकन लिन सकिने जनाइएको छ । सोही टोकन र समयका आधारमा सेवा लिन सकिने कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।
कार्यालय प्रमुख पौडेलले छिट्टै पुरानो प्रकारका लाइसेन्सको पनि नवीकरण शुरू गर्ने बताए । अहिले प्राविधिक समस्याका कारण स्मार्ट लाइसेन्स मात्रै नवीकरण थालिएको उनले बताए । आउँदो ३/४ महिना भित्रमा नयाँ लाइसेन्स समेत जारी गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
चितवनमा विक्रम संवत् २०५१ देखि पटके कार्यालयको रूपमा यातायात सेवा कार्यालयको स्थापना भएको थियो । त्यतिबेला अस्थायी रुट इजाजत मात्रै दिने गरिएको थियो । सोही बेला सातामा एकदिन मात्रै वीरगञ्जबाट १ जना अधिकृत र १ जना मेकानिकल सुपरभाइजर आएर जाँचपास गर्ने व्यवस्था थियो ।
विक्रम संवत् २०६२ सालमा सेवा विस्तार भएर वीरगञ्ज कार्यालयको शाखाको रूपमा स्थापित कार्यालयबाट बाटो इजाजत, नियमित जाँचपास, कर जरिवाना, अस्थायी रुट इजाजतसम्बन्धी काम थपिएको थियो । विक्रम संवत् २०७१ साउन ३० गतेबाट स्थायी कर्मचारीको दरबन्दीसहित कार्यालयको कामलाई चुस्तदुरुस्त बनाउने प्रयास थालिएको थियो ।
विक्रम संवत् २०७५ देखि संघीयता लागू भएपछि बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेर यस कार्यालयलाई अघि बढाइयो । त्यतिबेलासम्म सवारीसाधनको बिलबुक नवीकरण र कर तिर्ने, रुट इजाजत लिने, पटके लगायतका सेवा सञ्चालन भएको थियो ।
विक्रम संवत् २०७७ वैशाख ६ गते सवारीसाधन दर्ता समेत विस्तार गर्ने निर्णयबमोजिम २०७८ साउन २८ गतेबाट सवारी साधन दर्ताको प्रक्रिया शुरू भएको छ । भदौ ३ गते सवारीचालक अनुमतिपत्रको समेत कार्य गर्ने गरी मन्त्रालयले कार्यादेश दिएको थियो ।
त्यसपश्चात् मंसिर ५ गतेबाट सवारी चालक अनुमतिपत्र नवीकरण ट्रायलको रूपमा शुरूआत गरिएको थियो ।



