काठमाण्डौ – आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले हस्ताक्षर गर्नुभयो । यो सम्झौतापछि आईएमई इन्स्योरेन्सले नेपाल पर्यटन बोर्डका कर्मचारीको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमाका साथै सम्पत्ति तथा सवारी साधनसहित निर्जीवन बीमा प्रदान गर्नेछ ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन बोर्डले आईएमईसँग आफ्नो कार्यालयसँग सम्बन्धित सबै निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा आफूलाई खुसी लागेको जानकारी गराउनुभयो ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल सरकार र निजी क्षेत्रको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि काम गर्ने नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्न पाउँदा आफूलाई पनि खुसी लागेको बताउनुभयो ।



