जनकपुरधाम । सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले मङ्सिर २२ गते बुधबार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधबार सार्वजनिक विदा दिइएको हो । त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मङ्गलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए । विवाह पञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थालाई मङ्सिर २१ देखि २३ गतेसम्म बिदा दिने निर्णय भएको प्रमुख यादवले बताए ।
गत शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवअन्तर्गत बुधबार वैवाहिक कार्यक्रम छ । सीताराम विवाहमहोत्सव अन्तर्गत पहिलो दिन शुक्रबार जनकपुर नगरदर्शन गरिएको थियो भने शनिबार फूलबारी लिला सम्पन्न गरिएको हो ।
आइतबार धनुषयज्ञ गरिएको छ । महोत्सवअन्तर्गत सोमबार तिलकोत्सव, मङ्गलबार मटको, बुधबार शुभविवाह रहेको छ भने बिहीबार रामकलेवा भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुने जानकी मन्दीरका उत्तराधिकारी महन्थ रामरोशन दास बैष्णवले जानकारी दिए ।



