ट्रान्सजेन्डर मेन (पारालिङ्गी पुरुष) राज चौधरी ११ वर्षको हुँदा महिनावारी भए । सानै उमेरदेखि आफूलाई पुरुष सोच्ने भएकाले उनलाई आफू महिनावारी भएको भन्ने आँट नै आएन । उनी भन्छन्, ‘अहिले आएर लाग्छ, मजस्तै थुप्रै साथीहरूलाई महिनावारी र प्याडको विषयमा जानकारी गराउनुपर्छ ।’
महिलाको अंग लिएर जन्मिए पनि उमेर बढ्दै जाँदा आफूलाई पुरुष भएको अनुभूति हुने व्यक्तिलाई पारालिङ्गी पुरुष (ट्रान्सजेण्डर मेन) भनिन्छ । आफूलाई पुरुष हुँ भन्ने भएपछि सम्राट चौधरीलाई (पारलिङ्गी पुरुष) महिनावारी नभइदिए हुन्थ्यो भन्ने लाग्छ । उनी भन्छन्, ‘मलाई पहिलो पटक महिनावारी हुँदा एकदमै डर लागेको थियो । साथै, अप्ठ्यारो महसुस पनि भयो । मैले आमालाई आफू महिनावारी भएको जनाएँ । म पुरुष हुँ तर म किन महिनावारी भएँ ? मेरो ढाड, पेट किन दुख्यो भनेर अचम्मित भएँ ।’
आफ्नो लैङ्गिक पहिचान फरक हो भन्ने थाहा पाएपछि महिनावारी नहोस् भनेर जथाभावी औषधिको प्रयोग गर्नेहरू पनि प्रशस्तै छन् । पारालिङ्गी पुरुष (ट्रान्सजेण्डर मेन) संयोग केसीले महिनावारी बन्द गर्न धेरै औषधिको प्रयोग गरेको बताउँछन् । उनी भन्छन्, ‘म सानैदेखि आफूलाई छोरा महसुस गर्थेँ । तर १२ वर्षको उमेरमा पहिलो पटक महिनावारी भएँ ।’ परिवारका कसैलाई पनि आफ्नो महिनावारीबारे जानकारी गराउन नसकेका उनी प्याड लिएर आउँदा देख्ने मान्छेहरू खिल्ली उडाउने गर्थे । उनले महिनावारी बन्द गर्न विभिन्न औषधि सेवन गरे । यसले महिनावारी तलमाथि हुने, अत्यधिक रगत बग्ने र शरीरमा अन्य समस्या आएर धेरै दुःख पाए ।
ट्रान्सजेण्डर मेन चन्द्र सिंह महिनावारीको बेला यात्रा गर्नुपर्दा झन तनाव खेप्नुपर्ने बताउँछन् । ‘एकपटक यात्राको क्रममा महिनावारी भयो । तर पुरुष या महिला कुन शौचालय प्रयोग गरेर प्याड फेर्ने दुविधा भयो,’ उनले भने, ‘मेरी पार्टनर स्वस्तिका परियार पुरुष शौचालय बाहिर ढोकामा कुरेर बसेपछि बल्ल ढुक्कले प्याड फेरें ।’



