नेकपा एमालेका नेता भीम रावलले आफूसँग सल्लाह नै नगरी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएको भन्दै आपत्ति जनाएका छन् ।
समाचारबाट आफूलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएको थाहा पाएको र त्यस्तो हो भने आपत्तिजनक रहेको रावलले शनिवार ट्वीटरमार्फत भनेका छन् ।
त्यतिमात्रै होइन उनले टीके प्रणाली बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने पनि उल्लेख गरेका छन् ।
‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ,’ उनले ट्वीटरमा भनेका छन् ।
एमालेका महासचिव शंकर पोखरेलले शुक्रवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नीतिगत रूपमा नेता रावल पार्टीको सल्लाहकार रहने बताएका थिए ।
भीम रावललाई पार्टीमा जिम्मेवारी नदिइएको बारे पत्रकारहरूले सोधेको प्रश्नमा पोखरेलले रावलले जिम्मेवारीको सन्दर्भमा पार्टी अध्यक्षसँग छलफल गर्न सक्ने बताएका थिए ।
‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनुभएन, त्यस अर्थमा उहाँको कार्य विभाजन भएन । हामीले गरेको नीतिगत निर्णयले उहाँलाई सल्लाहकारको जिम्मेवारी प्रदान गर्दछ,’ पोखरेलले भनेका थिए, ‘जिम्मेवारीका सन्दर्भमा उहाँले पार्टी अध्यक्षसँग छलफल गर्न सक्नुहुन्छ । केन्द्रीय सल्लाहकार परिषद्मा रहेर उहाँले बेला–बेलामा पार्टीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ ।’
एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका उम्मेदवार भएका रावल पराजित भएका थिए । अध्यक्षमा पराजित भएपछि उनले केन्द्रीय सदस्य पनि नबन्ने बताएका थिए । आफूले अध्यक्षमा मात्रै उम्मेदवारी दिएकाले केन्द्रीय सदस्य बन्न नमिल्ने रावलले तर्क गर्दै आएका छन् ।



