नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चार वटा निर्णय गरेको छ।

सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकले बीपी कोइरालादेखि सुशील कोइरालासम्म कांग्रेसको नेतृत्व गरेका नेताहरूप्रति सम्मान प्रकट गर्दै पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउने संकल्प गरेको छ। कांग्रेसको पहिलो निर्णयमा भनिएको छ, “१४औं महाधिवेशनमा प्रकट भएको उत्साह, एकता र रुपान्तरणको गहिरो भावना आत्मसात गर्दै इतिहासले सुम्पिएको जिम्मेवारीलाई एकताबद्ध ढंगले सम्पादन गर्ने संकल्प र दृढता यो प्रथम बैठक व्यक्त गर्दछ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, महाधिवेशन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यससँगै वडादेखि केन्द्रसम्म निर्वाचित सबैलाई बधाइ दिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको तेस्रो निर्णयमा १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई सुम्पेको छ।

त्यसका लागि निर्वाचनमा आयोगमा दल दर्ता गर्ने र त्यससम्बन्धी सबै प्रक्रिया पूरा गर्ने जिम्मेवारी कार्यालयका मुख्यसचिव पौडेललाई दिने निर्णय गरेको हो।

देउवाको सभापतित्वमा सम्पन्न बैठकमा महामन्त्री गगन थापाले प्रस्ताव प्रस्तुत गरेका थिए।