दमक/ पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आइतबार बिहानैदेखि दमकमा व्यस्त भएका छन । शनिबार राती दमक आएर नेपालीरिका होटलमा बास बसेका ओलीले बिहान ९.३० मा दमक चोकमा नवनिर्मित सुनौलो द्धार उदघाटन गर्ने कार्यक्रम आन्तरिक भेटघाट र छलफलका कारण दुई घण्टा पछि लम्बिएको थियो । नेपालीरिकामा उनले बिहानैदेखि शुरु गरेको पार्टी कार्यकर्ता, शुभेच्छुक तथा जनप्रतिनिधिहरुसंग भेटघाटको क्रम ११.३० सम्म चलेका कारण दमक चोकमा उनको स्वागतार्थ बसेका शुभेच्छुक तथा समर्थक , विभिन्न राजनीतिक दलका स्थानीय नेताहरु को पर्खाई लामो हुन पुगेको थियो ।
कतिपय सहभागीहरुले पूर्व प्रधानमन्त्रीले स्थानीयस्तरका साना तिना योजनाहरुको उदघाटनमा देखाएको सक्रियता र सहभागितालाई चुनावी तयारीको संकेतका रुपमा बुझन सकिने पनि टिप्पणी गरिरहेका थिए । सुनौलोद्धार उदघाटन कार्यक्रममा सहभागी हुन आएका राप्रपाका १ नम्बर प्रदेश अध्यक्ष समेत रहेका स्थानीय नेता राम थापाले ओलीको सहभागिताबारे टिप्पणी गर्दै भने– अब केही मार्केट, सो रुमहरु पनि उहाँ ( ओली)लेनै गरे बेस होला ।
पार्टीको १० औं महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक शनिबार गृह जिल्ला झापा आएका अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत हुन । ओलीले सरकारी लागत र दाताहरुको सहयोग समेत ४० लाख रुपैयाँ भन्दा बढीको लागतमा बनेको सुनौलो स्वागतद्धारको उदघाटनपछि दमक अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्टको उदघाटन गर्नेछन भने दमक ३ मा निर्माण गरिएको भ्यू टावरको पनि स्थलगत निरिक्षण गरेर अध्यक्ष ओलीले जनता आवास कार्यक्रम अन्तर्गत सो वडामा निर्मित ३३ वटा घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ । अध्यक्ष ओली भोली (सोमबार) पनि आफनो निर्वाचन क्षेत्रमा व्यस्त रहने जनाइएको छ । उनले एमालेका नव प्रवेशीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको पनि एमाले स्रोतले जनाएको छ । निष्कर्ष न्यूज बाट साभार