सिरहा – जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको निषेधाज्ञा हटाएको छ । जनमत पार्टीले हड्ताल र चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयमा आज मङ्गलवार बसेको सर्वदलीय बैठकपछि निषेधाज्ञा फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिनुभयो । प्रशासनले यसअघि पक्राउ परेका किसान मिथिलेश यादव र सिके राउतको दल जनमत पार्टीका १८ जना कार्यकर्तालाई पनि रिहा गरेको उहाँले बताउनुभयो ।
किसान यादव सिरहाको औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बिउ लुटेको आरोपमा पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालत धनुषाले साधारण तारिखमा रिहा गरेको हो । यादव पक्राउ परेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन सुरु गरेको हो ।
आन्दोलनका क्रममा १८ जना पक्राउ परेकामा सर्वदलीय बैठकमा आएको अनुरोधअनुसार रिहा गरेको प्रमुख जिल्ला अधिकारी कवारीले बताउनुभयो ।