कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रामेछापले २० वर्ष कैद सजाय तोकेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–४ को करिब ५५ वर्षीय होमबहादुर थापा मगर विशेष सूचनाका आधारमा समातिएका हुन्।

खोजीमा खटिएका प्रहरीको टोलीलाई निजको श्रीमतीले ‘घरमा नआएको धेरै भयो’भन्दै झुक्याउन खोजेकी थिइन्। प्रहरीले खोजतलास गर्दा डोकोमा लुकेर बसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब निरीक्षक नवराज ढुंगानाले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रामेछाप अदालतबाट २०५० फागुन १६ गते फैसला भई २० वर्ष कैद सजाय तोकिएकोमा फैसलापछि मगर २८ वर्षदेखि फरार थिए। उनीसहित ४ जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई चक्कुले हत्या गरी फरार रहेका थिए। अन्य प्रतिवादीहरू पक्राउ परी सजाय भुक्तान गरिसकेका छन्। निजलाई मंगलबार नै रामेछाप जिल्ला अदालतमा पेस गरिएको प्रहरी नायब उपरीक्षक ढुंगानाले बताए।