जुम्लाको माथिल्लो भेगमा बुधबार बिहानदेखि हिमपात भएको छ । मङ्गलबारदेखि मौसममा फेरबदल आएसँगै जिल्लामा हिमपात भएको जनाइएको छ । हिमपात हुँदा अत्यधिक बढेको जाडोले यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको तिला गाउँपालिका–१ का स्थानीयवासी मञ्जु बुढाले जानकारी दिइन् । उनले भनिन्, “ गत वर्षभन्दा यो वर्ष धेरै चिसो बढेको छ ।
हिउँ परेपछि अझै जाडो बढ्दै गएको छ । बालबालिका र वृद्धालाई निकै सास्ती भएको छ ।” जिल्लाको पातारासी र गुठीचौर गाउँपालिकामा बाक्लो हिमपात परेको जनाइएको छ । अहिले खलङ्गामा हिउँ परिरहेको छ । गत मङ्सिर महिना सुरु भएदेखि नै यहाँको तापक्रम माइनसमा गएपछि सदरमुकाम खलङ्गामा हिमपातले चिसो अत्यधिक बढेको छ ।
हिमपातले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिउँ परेपछि जिल्लाबाट नेपालगञ्जसम्मको उडान गर्दै आएका हवाईसेवा समेत ठप्प भएका छन् । कर्णाली राजमार्गमा चल्ने लामो तथा छोटो दूरीमा सवारीसाधन फाट्टफुट्ट मात्र चलेको तिला कर्णाली यातायात समितिले जनाएको छ ।