प्रेम यादव
रौतहट । जनमत पार्टीका १२ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक्कासी मौसम परिवर्तन कारण जनमत पार्टीले घोषणा गरेको रौतहट बन्दको प्रभाव आंशिक रुपमा देखिएको थियो । तर मौसम परिवर्तन पश्चात पनि जनमतका कार्यकर्ताहरु प्रदर्शनमा उत्रेका छन् ।
पार्टीका कार्यकर्ताहरुले जिल्लाको मध्ये बजार गरुडामा सवारी तोडफोड गरेका छन् । रौतहट बन्दलाई बेवास्ता गरी सवारी चलाएको भन्दै कार्यकर्ताले ३ सवारी साधनलाई तोडफोड गरेका हुन्। सवारी साधनलाई तोडफोड गर्ने क्रममा चालकलाई समेत क्षति पुगेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक (डिएसपी) श्रीराम भन्डारीले जनाकारी दिनुभयाे।
मंगलवार जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै बुधवार अति आवश्यक बाहेक अन्य सवारी बन्द रहने जानकारी गराउनुभएकाे थियाे । सवारी साधन एवम् चालकलाई क्षति पुर्याएको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले जनमत पार्टीका ७ जना कार्यकर्तालाई पक्राउ गरिएको डिएसपी भण्डरीले बताउनुभयो ।
किसानहरुको समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै पार्टीले मधेशका जिल्लाहरुमा आन्दोलन गरिरहेको छ । राज्यले किसानका जायज मागहरुलाई वेवास्ता गरेको भन्दै सिरहामा शुरु भएको किसान आन्दोलन प्रति एक्यवद्धता जनाएर किसानका माग पूरा गराउन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।
बुधवार बिहान गौरमा प्रदर्शनमा उत्रेका ५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौर र गरुडा गरी कुल १२ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल मल्लले बताउनुभयो ।



