नेपाली कांग्रेस दमकले १४ औं महाधिवेशनमा उपल्लो तहमा निर्वाचित नगरस्थित नेताहरुलाई बिहिबार सामुहिक रुपमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।
पार्टीका नगर सभापति प्रकाश प्रसाइँको सभापतित्व र नवनिर्वाचित केन्द्रीय सदस्य सांसद महेन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्यमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश समिति सदस्यमा निर्वाचित चन्द्रा खडका भट्टराई, भुमिराज राई, जिल्ला उपसभापतिमा निर्वाचित शेरबहादुर भट्टराई, महाधिवेशन प्रतिनिधिद्धय सुरेश सुब्बा र डा. नेत्र बुढाथोकी, जिल्ला सदस्यहरु, क्षेत्र नं ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र खका सभापति रवि केसी न्यौपाने लगायत दर्जन बढी नेताहरुहरुलाई सामुहिक रुपमा बधाई तथा शुभकामना दिइएको पार्टीका नगर सचिव रामचन्द्र अधिकारीले जानकारी दिए ।
सो अवसरमा प्रमुख अतिथी समेत रहेकी नेतृ लिम्बु कांग्रेसको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दमकको पहिलो नेतृ भएको जनाइएको थियो । पार्टीका नगर उपसभापति प्रेम भट्टराईले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा महाधिवेशन प्रतिनिधि एवं नेता सुरेश सुब्बा, निवनिर्वाचित जिल्ला उपसभापति भट्टराई, क्षेत्रीय सभापति भण्डारी लगायतले मन्तव्य राख्दै अधिवेशन सकिएसंगै सबै तहमा पार्टीको नयाँ नेतृत्व चयन भइसकेकाले अब कांग्रेस एक ढिक्का भएर सबै तहका आगामी निर्वाचनहरुमा विजयीको झण्डा फहराउने प्रतिबद्धता जनाए ।
झापाको कमल गाउँपालिकामा सांसद महेन्द्रकुमारी लिम्बुको सांसद बिकास कोष मार्फत बजेटबाट सञ्चालन भइरहेको सडक स्तरोन्नतीको एउटा योजनाका बिषयमा सांसद लिम्बुसहित पार्टी नेताहरुले सार्वजनिक गर्दै खबरदारी गरेका छन । कांग्रेस कमल ४ को वडा समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद लिम्बुले योजनाका बारेमा जानकारी गराउँदै निर्धारित मापदण्ड अनुसार सडक कालोपत्रे योजना सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन । कमलको वडा नं ४, ५ र ६ को सितापुरी गेउरिया किस्ने दोभान हुदै गौरादह जोड्ने सो सडक स्तरोन्नतीका २ करोड ५० लाख रुपैयाा बराबरको बजेट बिनियोजन भएको कार्यक्रममा जनाइएको छ ।
कार्यक्रममा सहभागी कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद लिम्बुले संसद बिकास कोष बाट आफ्नो बिशेष पहलमा सो बजेट विनियोजन भएको बताइन । सांसद लिम्बुले प्राथमिकता र आवश्यकताका आधारमा न्यायोचित र सन्तुलित बिकासका योजनाहरुको कार्यान्वयन आवश्यक रहेको बताइन ।
कांग्रेसका ४ नम्बर वडा सभापति सागर राईको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टीका एक नम्बर प्रदेश समिति सदस्य हुकुमसिंह राई, महाधिबेशन प्रतिनिधि राजन ढुङगा,पुर्व कमल सभापति खगेन भण्डारी, पार्टीका गाउँ उपसभापति एवं कमल १ का वडाध्यक्ष केदार कटुवाल , प्रदेश प्रतिनिधि दिपा गौतम, बदीराम राई,बिष्णु बेघासहित वडा सभापतिहरुसहित स्थानीय नेता, कार्यकर्ता , सर्वसाधारणहरु सहभागी थिए । सो अवसरमा स्थानीयबासीहरुले सो योजनालाई आगामी बर्षका बजेट तथा कार्यक्रमहरुमा समेत प्राथमिकतामा राख्न सांसद लिम्बुसहित सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएका थिए ।