दमक/ ‘स्पाईनल ईन्जुरी’ अर्थात मेरुदण्डको पक्षघात भएकाहरुबीच झापाको दमकमा मैत्रीपुर्ण बास्केटबल प्रतियोगिता भएको छ । लायन्स क्लव अफ झापा दमक र रोटरी क्लव अफ दमकको संयुक्त आयोजनामा शनिवार दमकमा यस्तो प्रतियोगिता भएको हो ।
कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि एवं दमक नगर उपप्रमुख गीता अधिकारीले आफुले ह्विल चियरमा रहेर बास्केटवल खेल खेलेको पहिलो चोटी देखेको भन्दै यो आत्म विश्वासलाई सबैले कदर गर्नु पर्ने बताईन् । फरक क्षमता भएकाहरुको यो एउटा साहस र आत्मविश्वास हो, उनले भनिन् ।
शनिवार झापाको दमक ८ स्थित जेम्स स्कूलमा भएको प्रतियोगितामा एक दर्जनभन्दा बढि खेलाडिहरुले ह्विल चियरमा रहेर मैत्रीपुर्ण बास्केटवल प्रतियोगितामा सहभागिता जनाएकाहुन् । दूई समुहमा बाँडिएर मैत्रीपुर्ण प्रतियोगितामा स्पाईनल ईन्जुरी संघ प्रदेश १ का पदाधिकारी तथा सदस्यहरुले लगातर ४० मिनेटभन्दा बढि सहभागिता जनाए ।
वास्तवमा नै हामीले सोचेका थिएनौ ‘स्पाईनल ईन्जुरी’ भएकाहरु पनि वास्केटवल खेलमा कमजोर हुनुहुन्न रहेछ, लायन्स क्लव अफ झापा दमकका अध्यक्ष अशोक चौधरीले भने । अग्रेजी महिनाको नयाँ बर्षमा यस किसिमको कार्यक्रम गर्दा आफुहरुलाई गर्व लागेको पनि उनले जनाए । आगामि दिनमा पनि यस प्रकारको कार्यक्रममा आफुहरुको साथ र सहयोग रहने पनि उनले प्रतिबद्धता जनाए ।
रोटरी क्लव अफ दमकका अध्यक्ष भरत चम्लागाँईले रोटरी र लायन्स मिलेर सम्भवत झापामा नै पहिलो पटक ‘स्पाईनल ईन्जुरी’ अर्थात मेरुदण्डको पक्षघात भएकाहरुबीच यो मैत्रीपुर्ण खेल भएको भन्दै आफुहरु सधै यस्ता कार्यलाई प्रोत्साहन गर्ने बताए । हामी फरक क्षमता भएकाहरुको साथमा सधै छौ र रहन्छौ, उनले भने । खेल हेर्दा आफु पनि निक्कै अचम्मित भएको उनले सुनाए ।
लायन्स लिडर अजकुमार अग्रवालले लायन्स क्लव अफ झापा दमक र रोटरी क्लव अफ दमकको सहकार्यमा भएको यो फरक किसिमको कार्यक्रम फरक क्षमता भएकाहरुका लागि मात्र नभएर सबैका लागि एउटा हौसला भएको बताए । ‘स्पाईनल ईन्जुरी’ अर्थात मेरुदण्डको पक्षघात भएकाहरु कमजोर हुन्नन् र छैनैन् भन्ने यो खेलले पुष्टि गर्यो, उनले भने ।
अपाङगता भित्रको अर्को अपाङगता स्पाइनल इन्जुरी भएको बताउदै आफुहरु संगठित बन्दै गएको स्पाईनल ईन्जुरी संघ प्रदेश १ का अध्यक्ष विक्रम घिमिरेले बताए । पुर्वमा पहिलो पटक आफुहरुले बास्केटवललाई ब्यवसायीक रुपमा अघि बढाउने जमर्को गरेको पनि उनको भनाई छ ।