काठमाण्डाै – काठमाण्डौको कपनमा एउटै कोठामा बसेका युवक र युवतीको ज्यान गएको छ । गएराति कपनको शिवजी चोक नजिक युसिना राई घरको कोठामा मृत अवस्थामा र अमिश जिमि घाइते अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रहरीका अनुसार कोठामा डाङ्गडुङको आवाज आएपछि फोडेर हेर्दा राई मृत अवस्थामा र जिमि घाइते अवस्थामा फेला परेका हुन् । घाइते जिमिको चाबहिलमा रहेको अस्पतालमा उपचारका क्रममा ज्यान गएको महाशाखाका प्रहरी उपरिक्षक एवं सूचना अधिकारी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । उनीहरुको शरीरमा धारिलो हतियारको चोट देखिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको महाशाखाले जनाएको छ ।



