एमाले नेता विष्णु रिमालले नेपाली काँग्रेसले प्रदेश नम्वर दुईमा मुस्किलले २५ स्थानीय तहमा जित हासिल गर्ने दाबी गरेका छन् ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले दुई नम्वर प्रदेशका केन्द्रीय सदस्य र सभासदहरुको भेलामा १२७ स्थानीय तह भएको दुई नम्वर प्रदेशमा १०० स्थानमा जित्ने लक्ष्यसहितको विवरण पेश गरेको भन्ने समाचार सार्वजनिक भएपछि नेपाल जर्नलसंगको प्रतिक्रियामा नेता रिमालले काँग्रेसको साइज बताएका हुन । उनी भन्छन, ‘काँग्रेसको लक्ष्य पुरै हावादारी छ ।’
निधिले काँग्रेस भेलामा पार्टी संयन्त्रको सूचनाको आधारमा एमालेको दुर्इ नम्वर प्रदेशमा १९ स्थानमा मात्र प्रभाव रहेको वताएका थिए । त्यो १९ सीट पूर्व पश्चिम राजमार्ग क्षेत्रमा रहेकाले त्यहाँ माओवादी र राजपासँगको सहकार्यबाट एमालेलाई खुम्चाउन सकिने रणनीति निधिले बताएका थिए ।
रिमालले पनि एमालेले जिल्ला कमिटीले गरेको सर्भेको हवाला दिदै कम्तिका ४० स्थानमा र बढीमा ५९ स्थानमा जित्ने तर्क प्रस्तुत गरे । कम्तिमा २५ सिट जित्दामात्रै पनि पहिलो पार्टी बन्न पुग्ने भएकाले एमाले ढुक्क रहेका उनको भनाइ छ । निधिको लक्ष्य बमोजिम यदि नेपाली काँग्रेसले साँच्चै दुई नम्वर प्रदेशका १२७ मध्ये १०० स्थानमा जिते काँग्रेसको ३२७ सीट हुन सक्छ तर १०० स्थानमा काँग्रेस एक्लैले जित्ला ? काँग्रेसकै कार्यकर्तालाई पनि पत्याउन गाह्रो छ ।
एमाले नेता रिमालको दावी अनुसार एमालेले २५ स्थानमा मात्रै जितेपनि पहिलो पार्टी बन्छ । यदि यसो हो भने एमालेलाई रोक्न काँग्रेसले दुई नम्वर प्रदेशवाट एक्लैले ७५ स्थानीय तह जित्नु पर्छ । एमालेले २५, काँग्रेसले ७५ र अन्य वाँकी स्थानमा मधेश केन्द्रित दलले जिते भने मात्र काँग्रेसकाे स्थानीय तह निर्वाचनमा पहिलो बन्ने सपना पुरा हुन्छ।
एमालेलाई २० स्थानमा रोक्न काँग्रेसले ७०स्थानमा ,१५ स्थानमा रोक्न ६५ स्थानमा र १० स्थानमा रोक्न काँग्रेस एक्लैले ६० स्थानमा जित्नु पर्छ । जुन पार्टीले जसरी दाबी गरिरहेपनि दुई नम्वर प्रदेशको निर्वाचनको मत परिणाम सार्वजनिक नभएसम्म कुन पार्टी स्थानीय तहमा पहिलो हुनेछ भनेर भन्न गाह्रो हुन्छ ।
सरकार र राष्ट्रिय जनता पार्टीबीच सहमति हुन्छ हुँदैन ? राजपा चुनावमा जान्छ जाँदैन ? राजपाले चुनाव बहिस्कार गरे मधेशमा कस्तो प्रभाव पर्छ ? चुनावमा गए उसको सामथ्र्य के हुन्छ ? भन्ने विषयलाई गौण मानेर दुई ठूला दल मधेशको स्थानीय तहको संख्या जोडेर मै ठूलो हुन्छु भन्ने आत्मरतिमा रम्नुलाई सार्वजनिक खपतको विषयको रुपमा मात्र हेरिएको छ ।



