स्याङजा । स्याङ्जामा एक १६ महिने बालकको चक्कु प्रहार गरी हत्या भएको छ । वालिङ नगरपालिका-१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

हत्यामा संलग्न भएको अभियोगमा एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पक्राउ परेको उनले बताए । ‘दिउँसो १ बजे चक्कु प्रहार भएको हो, तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकामा डाक्टरले मृत घोषित गरेका थिए’ अधिकारीले भने, ‘घटनामा गुरुङकी दिदी पाँच वर्षीया साइना पनि घाइते छिन्, उनको अवस्था मध्यम छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार साइमनको घाँटीमा चक्कु प्रहार भएको थियो । गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन । अधिकारी भन्छन्, ‘यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ, स्पष्ट हुन केही समय लाग्छ ।’