दमक/ दमक अस्पतालमा सुत्केरी गराउन ल्याइएकी एक महिलाको मृत्युका बिषयमा छानबिन हुने भएको छ । गत १ माघमा सुत्केरी गराउन ल्याइएकी इलाम चुलाचुलीकी १९ बर्षिया अरुणा आङदेम्बेको अकस्मात गत शनिबार भएको मृत्युका बिषयमा छानबिन गर्न सर्वपक्षीय निर्णय भएको जनाइएको छ । दमक अस्पतालका चिकित्सकले उपचार प्रकृयामा गरेको त्रुटीका कारण उनको मृत्यु हुन गएको पीडित परिवारको आरोप र विराटनगरस्थित नोवेल अस्पतालका चिकित्सकहरुको समेत तर्क भएका कारण उनको उपचार प्रकृया र मृत्युका बिषयमा छानबिन गरिने भएको हो । सुत्केरी महिलाको मृत्युको घटनाका बारे आज नगरपालिकामा पीडित पक्ष,अस्पताल र जनप्रतिनिधिहरुको उपस्थितिमा भएको छलफल भएको थियो । नगर प्रमुख रोमनाथ ओलीको उपस्थितिमा भएको छलफलमा मृतक महिलाको घटनाका बारे अनुसन्धान गर्न, दोषी ठहरिए घटनामा संलग्नलाई कारवाही गर्ने तथा मृतकको दाहसंस्कारका लागि तत्काल रु १ लाख सहयोग उपलव्ध गराउने निर्णय भएको छ । अनुसन्धान र क्षतिपूर्ति सम्बन्धमा डा. शंकर प्रसाद हुजदारको संयोजकत्वमा पीडितपक्ष, जनप्रतिनिधि ,अस्पतालका प्रतिनिधिसहितको सहभागिता रहने गरि ७ सदस्यीय छानवीन समिति गठन गरि पाँच दिन भित्रमा प्रतिवेदन नगरपालिकामा पेश गर्ने निर्णय भएको बताइएको छ ।
कसरी भयो घटना ?
शल्यक्रिया बिनानै सुत्केरी भएकी ति महिलाको अत्याधिक रक्तश्रावका कारण हिजो शनिवार मृत्युभएको पीडित परिवारले जनाएका छन् ।
मृतकका आफन्त आइतहाङ लिम्बूका अनुसार माघ १ गते सुत्केरी व्याथा लागेर सामान्य अवस्थामा २ केजी ८ सय ग्रामको शिशु सकुसल जन्माएकी थिईन् । अस्पतालका चिकित्सकले सामान्य अवस्थामा डेलिभेरी भएपनि केहि घण्टा पछि विरामीलाई रगत चाहिने भन्दै २ पिन्ट रगत दिईएको उनले बताए । अत्याधिक रक्तस्राव हुदै गएकाले सुत्केरीको अवस्था केहि जटिल बन्दै गएपछि भोलिपल्ट अस्पतालले आफनै कर्मचारीसहित विरामीलाई विराटनगरस्थित नोवेल शिक्षण अस्पताल पठाएको आइतहाङले बताए ।
शुरुवाती उपचारस्थलमा नै प्राविधिक रुपमा गलत गरेका कारण विरामीको अवस्था यस्तो भएको भन्ने नोवेलका चिकित्सकको भनाई उद्दृत गर्दे आइतहाङले भने, –‘ दमक अस्पतालमा चिकित्सकको लार्पावाहीका कारण हाम्रो विरामीले अकालमै ज्यान गुमाउनुपरेको छ ।
दोषी चिकित्सकमाथि कारवाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्छ ’ १६ घण्टासम्म रक्तस्राव हुदाँ सम्म आलटाल गरि राखिरहनु तथा गम्भिर अवस्थामा पुगेपछि परिवारलाई जानकारी बिना हतारहतार एम्बुलेन्स खोजेर नोवेल अस्पताल लैजान तयारी गरेपछि मात्र खबर गर्नुले अस्पतालको त्रुटि भएको पुष्टि हुने मृतक अरुणाका पति दिजन राईको तर्क छ ।
स्वास्थ्य बिमाको सुविधा पाउने आशामा दमक अस्पतालमा विरामी लैजादा विरामीले अकालमै ज्यान गुमाउनु परेको उनको आरोप छ ।
दमक १ मा अवस्थित २५ शैयाको सो अस्पतालमा केहि समय अघिदेखि सुत्केरी सेवा विस्तार गरिएपनि दमक अस्पताल सहित दमकका अधिकांश अस्पताल छेउछाउ र सम्बद्ध कर्मचारी तथा स्वास्थ्यकर्मीहरुका आफन्तको उपचार सेवाका लागि भने अन्यत्र लैजाने गरेका छन ।
दमक अस्पतालले भने सुत्केरीको उपचारमा कुनै लार्पावाही नभएको दावी गर्दै आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर खडग लिम्बूले सुत्केरीको उपचारमा कुनै त्रुटी नभएको भन्दै त्यसमा चिकित्सकको लार्पावाही नभएको दावी गरे । प्रजननका क्रममा रक्तश्राव आउनु स्वभाविक भएपनि ती महिलामा भने रक्तश्राव अत्याधिक भएको भन्दै त्यो घटना भवितव्य रुपमा देखिएको उनको भनाई छ ।



