काठमाडौं । लैनचौरस्थित शहीद पार्कमा ठड्याइएको कलशसहितको स्मारकमा लेखिएको छ, ‘शहीद स्मारक, नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रजातन्त्र ल्याउन बेलाबेलामा बलिदान भएका ती वीर शहीदहरूको सम्झनामा १९५८ एडी विक्रम संवत् २०१५ नेपाल संवत् १०७८ ।’ स्मारकमा यस्तो लेखिएको भए पनि पार्क संरक्षणमा देखिएको उदासीनताले शहीदको सपना र बलिदानको राज्यबाट उचित कदर हुन नसकेको आभास हुन्छ ।
राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री नियुक्त भएपछि स्मारकमा माल्यार्पण गर्न जाने चलन छ । त्यससँगै हरेक वर्ष शहीद दिवसका दिन स्मारकको कलशमा फूलमाला चढाएर सामान्य कार्यक्रम गर्नेबाहेक अन्य समयमा खासै कसैले सम्झँदैनन् ।पार्क संरक्षणमा खटिनुभएका रवि मालीले भन्नुभयो, “यो पार्कलाई सरकारले सम्झने भनेको शहीद दिवसको दिन मात्रै हो ।
पाहुना पनि आउने भएकाले होला, महानगरपालिकाले यो दिन चाहिँ पार्कलाई रङरोगन गरेर चिटिक्क पार्छ । अरू दिन सुनसान हुन्छ । ”शहीद दिवसका अवसरमा आइतबार प्रधानमन्त्री उपस्थित हुने कार्यक्रम भएका कारण शनिबार पार्क सजावटका काम दु्रत गतिमा भइरहेको थियो ।
दुग्ध विकास संस्थानबाट खानी विभागसम्म निस्कने बाटो विस्तार गर्ने क्रममा भत्काइएका पर्खालबाट निस्केका ढुङ्गा, माटो पन्छाउन कामदार व्यस्त थिए । लामो समयदेखि छरिएर रहेका ती सामग्री पनि शहीद दिवसका दिन कार्यक्रम गर्न लागिएकोले मात्रै पन्छाउन लागिएको मालीले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।



